भीरकोट नगरपालिका स्याङजा जिल्लाको पहिलो बालमैत्री नगर घोषणा हुदैं, बालबालिकाका अधिकार सुनिश्चित गर्ने प्रतिवद्धता

प्रकाशित मिति:

(भीरकोट) स्याङ्जा—२१, फागुन- यही फागुन २२ गते शनिबार भीरकोट नगरपालिकालाई गण्डकी प्रदेशको दोश्रो तथा स्याङजा जिल्लाको पहिलो बालमैत्री नगरपालिका घोषणा गरिने भएको छ । बालमैत्री नगरपालिकाले बालअधिकार महासन्धीमा उल्लेखित बालअधिकारको सवाललाई आत्मसाथ गर्ने गर्दछ, जसलाई नेपालले सन् १९९० मा अनुमोदन गरिसकेको छ । बालमैत्री नगरपालिका निर्माणको यात्रामा भीरकोट नगरपालिकाले चुनौतीपूर्ण सूचक तथा मापदण्ड पूरा गर्दै बालबालिकाको अधिकारलाई स्थानीय नीति, नियम, कार्यक्रम र बजेटमा समावेश गरेको छ । जसका कारण बालबालिकाको आवाज र विचारलाई बालबालिका सम्बन्धी नीति, कार्यक्रम निर्माण तथा निर्णय प्रक्रियामा महत्वपूर्ण स्थान दिएको छ ।
बालमैत्री नगर घोषणा पूर्व आयाजित पत्रकार सम्मेलनमा बोल्दै भीरकोट नगरपालिकाका प्रमुख छायाराम खनालले हामीले नगरपालिकालाई बालमैत्री घोषणा गर्दैछौं, यो संगै बालअधिकार र बालमैत्री स्थानीय शासनलाई दिगो बनाउनुपर्छ भन्ने थप जिम्मेवारी हामीले महसुस गरेको बताए । खनालले नगरपालिकाले बालिबालिकाको अवस्था र सूचकहरु थप राम्रो बनाउन, गुणस्तरीय बालमैत्री वातावरण निर्माणका लागि बालबालिकाको क्षेत्रमा निरन्तर लगानी गर्ने बताए । बालबालिकाको समग्र वृद्धि, विकासलाई प्राथमिकतामा राखी बालमैत्री नगरको पहिचान स्थापित गर्न सके यसको निरन्तरता सदैव हुनेमा खनाल आशावादी छन् ।

बालमैत्री नगर निर्माणका लागि केही मापदण्डहरु पूरा गर्नुपर्ने हुन्छ । सोही अनुरुप भीरकोट नगरपालिकाले २०७५ साल देखि नै बालबालिकाको क्षेत्रमा पुजिगत बजेटको केही प्रतिशत बजेट विनियोजन गर्दै आएको छ । जसले गर्दा सत प्रतिशत बालबलिका विद्यालय भर्ना हुन सहयोग मिलेको छ, सबै विद्यालयमा छात्र छात्रामैत्री शौचालय रहेको छ, सबै बालबालिकालाई पूर्ण खोप लगाइएको छ, सबै घरमा शौचालय बनेको छ , बालबालिकाहरुको जन्मदर्ता पनि भएको छ । साथै नगरपालिकाले होटल, यातायात, घर लगायतका क्षेत्रमा रहेका बालश्रम न्युनीकरणको काम तिब्र रुपमा गरिरहेको छ र वालविवाह रोकथाम, न्युनीकरणका लागि समेत सक्रियताका साथ काम गरिरहेको छ । बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीति अनुसार स्थानीय तहलाई बालमैत्री गराउनका लागि ३९ ओटा सूचक पूरा गर्नुपर्ने भएकाले भीरकोट नगरपालिकाले सबै सूचकमा काम गरिहेको छ । जसमध्ये २० सूचकमा सत प्रतिशत र बाँकी सूचकहरुमा ९० प्रतिशत भन्दा बढि नतिजा प्राप्त गरेको छ ।

बालमैत्री राष्ट्रिय तालिम सहजकर्ता विष्णु चौवेका अनुसार भीरकोट नगरपालिकाका सम्पूर्ण बालबालिका, युवा र समग्र नगरबासी बधाईको पात्र हुनुहन्छ , जसले बालमैत्री स्थानीय शासनको महाअभियानलाई सफल बनाउन योगदान गर्नेछ । बालबालिकाको उज्वल र थप शान्तीपूर्ण भविष्यको लागि बालबालिकामा गरिएको लगानीको प्रतिफल स्वरुप बालमैत्री नगरपालिका घोषणा हने भएकोले राष्ट्रको प्रगतिको लागि आज यो अभियान एउटा कोशेढुङ्गा बनेको चौवेको भनाई छ ।
भीरकोट नगरपालिकाले बालमैत्री नगरको यात्रा विगत २ बर्षदेखि मात्रै शुरु गरेको थियो, यसै समयमा कोभीड महामारीको कारण अभियान प्रभाववित हुन पुग्यो । बालमैत्री अभ्यासले बालमैत्री स्थानीय शासनको प्रारुप तयार गर्न सहयोग गरेको भीरकोट नगरपालिकाका नगर प्रवक्ता दिपेन्द्र के.सी.ले बताए । बालमैत्री सम्वन्धि अबधारणा नेपाल सरकारले २०६८ सालदेखि अवलम्बन गरेको छ । बालमैत्री नेपाल निर्माणको उद्धेश्य प्राप्तीका लागि भीरकोट नगरपालिकाले स्थानीय स्तरबाट काम गरेको वडा नं ५ का अध्यक्ष याम प्रसाद अधिकारीले बताए ।

भीरकोट नगरपालिकाका बाल संजाल अध्यक्ष सुदिप पौडेलका अनुसार नगरपालिकाका सम्पूर्ण बालबालिकाको सपना पूरा भएको छ । बालमैत्री घोषणा गर्ने क्रम संगै बालमैत्री नगरको रुपमा हामीले सबै बालबालिकाको अधिकार सुनिश्चित गरेको पौडेलको भनाई छ । बालबालिकाले सुरक्षित वातवारणको महसुस गर्न पाएको र बालमैत्री वातावरणमा अध्ययन गर्ने अवसर पाएको पौडेलले बताए । बालबालिकाको आवाज सुनिदै गएको तथा योजना तर्जुमा प्रक्रियामा पनि निरन्तर सहभागी हुने अवसर पाएकोमा पौडेल खुसी छन् । पौडेल जस्तै बालक्लबमा बसेर नगरपालिका संग नजिकमा रहेर काम गर्ने अवसर पाएका कारण, विभिन्न तालिमहरुमा सहभागी भएका कारण अधिकांश बालबालिकाहरुको राम्रो क्षमता विकास भएको देखिन्छ । हजारौं मानिसहरुको अगाडि बालबालिकाहरु मञ्चमा उभिएर बोल्न सक्षम भएका छन् । यस्तै क्षमता विकासको अवसर देशका प्रत्येक बालबालिकाले पनि पाउनुपर्ने नगर बाल संजालका सहजकर्ता खुमकान्त खनाल बताउछन् ।