कम्युनिस्ट शान्तिका दूत पनि हुन्ः विप्लव

प्रकाशित मिति:

काठमाडौं, फागुन २१ : नेकपा विप्लव समूहका महासचिव नेत्रबिक्रम चन्दले कम्युनिस्टहरू विद्रोहका योद्धा मात्र नभई शान्तिका दूत पनि भएको बताएका छन् । सरकारसँग सम्पन्न तीनबुँदे सहमतिपत्रमा हस्ताक्षर समारोहलाई सम्बोधन गर्दै उनले हामी कम्युनिस्टले आफ्ना मान्यतामाथि हस्तक्षेप, देशमाथि हस्तक्षेप भएको देखेर विद्रोह गर्ने बताए ।

‘कम्युनिस्टहरूले विद्रोह गर्छन् र गर्दै आएका छौँ । तर, कम्युनिस्टहरूले विद्रोह मात्र गर्दैनन्, कम्युनिस्ट शान्तिका दूत पनि हुन्,’ उनले भने ।तीनबुँदे सहमतिभित्र महान आकांक्षा लुकेको उनले बताए । सहिदकी आमाको हातबाट टीका लगाएर आफू काठमाडौं आएको उनले बताए । ‘सहिदको सपना पूरा भएको छैन । दुःख गरेर खानेहरूको सपना पूरा भएको छैन,’ उनले भने, ‘दुःख नपाउने कम्युनिस्ट नेता छैनन् । मृत्युको नजिक पुगेर नफर्केको कम्युनिस्ट नेता पनि छैनन् । जे सपना देखेर कम्युनिस्ट आन्दोलनमा लाग्यौँ, सहिद परिवारलाई त्यो पूरा गर्छौँ भनेर विश्वास दिलाऔँ ।’

उनले कर्णालीमा प्रचलित गीत सुनाए– ‘यो कस्तो प्रेम भयो, जुन र घाम जस्तो, कहिल्यै भेट नहुनेजस्तो ।’ र, नेपाली समाजको रुपान्तरण पूरा नभएको उल्लेख गरे । ‘उत्पीडित समूदाय सन्तुष्ट छैनन्, पुँजीवादी रुपान्तरणमा सहमत नभएर विद्रोह गरेका हौँ । नयाँ प्रयोग इतिहासमा आवश्यक छ । जनतालाई नयाँ फैसला गर्न दिन जरुरी छ,’ उनले भने ।