भोलि रोटरीको हाफ म्याराथन

प्रकाशित मिति:

रोटरी क्लब अफ भैरहवाको आयोजनामा हुने खुल्ला हाफ म्याराथन प्रतियोगिताको तयारी भएको जनाएको छ । शनिबार हुने प्रतियोगिताको लागि तयारी पूरा भएको प्रतियोगिताका संयोजक राजकुमार गुप्ताले बताए । ‘रोटरी ईन्टरनेशनल डे’ को अवसरमा मारुती फुडपार्क काठमाण्डौं प्रिमियम जिरा मसिनो चामलको मुख्य प्रायोजन र नेपाल अम्बुजा सिमेन्टको सह–प्रायोजनमा ईन्टरनेशनल हाफ म्याराथन प्रतियोगिता हुन लागेको हो । विभागिय खेलाडीहरुसहित देशभरका करिब २०० धावक सहभागिता हुने २१ किलोमिटरको म्याराथन लुम्बिनी प्रादेशिक अस्पतालको उत्तर ढोकाबाट शुरु भई सिद्धार्थ राजमार्गको शंकरनगर, मणिग्राम, कोटिहवा, पडसरी, अंचलपुर, बुद्घचोक, बर्मेलीटोल, नारायणस्थान पथ हुँदै सानू डिपार्टमेन्टल स्टोर चोकमा समापन गरिने क्लबका अध्यक्ष शिवहरि शर्माले बताए ।

विजेताले नगद १ लाख, उपविजेताले ७५ हजार, तेस्रो स्थान हासिल गर्नेले नगद ५० हजार तथा सान्त्वना पुरस्कार दुईजनालाई नगद ५ हजार १ सय रुपैयाबाट पुरस्कृत गरिने उनले बताए ।यसैगरि प्रतियोगितालाई रोटरी क्लब अफ बुटवल, रुपन्देही, सेन्ट्रल लुम्बिनी, बुटवल डाउनटाउन, बुटवल साउथ, सेन्ट्रल बुटवल, लुम्बिनी सिद्धार्थ, सेन्ट्रल रुपन्देही, पाल्पा लुम्बिनी लगायतका रोट्रयाक्ट क्लबहरुको सहकार्य रहेको उनले बताए । यसअघि विश्व पोलियो दिवसको अवसरमा ईन्डो पोलियो नारासहित १२ किलोमिटरको दौड २ वर्षअघि गरिएको कार्यक्रम संयोजक राजकुमार गुप्ताले बताए।