स्थानियमा भ्रम छरेर विकासको बाटो अवरोध गर्ने तत्व सफल हुंदैन : अर्थमन्त्रि पौडेल

प्रकाशित मिति:

अर्थमन्त्री विष्णु पौडेलले पर्दा पछाडिबाट उचालिएकाहरुले कार्यक्रम भाँड्न खोजेको बताएका छन् । मोतिपुर औद्योगिक क्षेत्र शिलान्यास कार्यक्रम पश्चात आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले पर्दा पछाडीका पात्रले स्थानीयलाई भ्रम छरेर विकासको बाटोमा अवरोध पुर्याउन खोजेको बताए । उनले मोतिपुर औद्योगिक क्षेत्र भित्र पर्ने कसैलाई पनि बेदखल नगरिने स्पष्ट पार्दै अव्यवस्थित बसोबास गरिरहेका सबै स्थानीयलाई लालपुर्जा प्रदान गर्न सरकार प्रतिबद्ध भएको बताए । मोतिपुरको ओद्योगिक क्षेत्र कुनै व्यक्तिको जग्गामा स्थापना हुन नलागेको अर्थमन्त्री पौडेलले बिधि प्रक्रिया पुरा गरेर औद्योगिक क्षेत्र स्थापना हुन लागेको स्पष्ट पारे । पौडेलले विकासको गतिलाई अवरुद्ध पार्ने तत्वलाई पर्दाफास गर्न पत्रकारहरुलाई समेत आग्रह गरे । ‘मोतिपुर आसपासमा बस्ने स्थानीय भुमिहिनहरुलाई जमिनको मालिक यहि सरकारले बनाउँछ, पर्दा पछाडिबाट भ्रम छर्नेहरुले लालपुर्जा दिने होईन ।’ उनले भने, ‘सबैको जिम्मा हामी लिन्छौं , सबैलाई जमिनको मालिक बनाउछौं ।’

औद्योगिक क्षेत्रले स्थानीयलाई बिस्थापित गर्छ भन्दै भ्रम सिर्जना गरिएको उल्लेख गर्दै उनले कसैको उक्साहतका कारण विकासको गति नरोकिने बताए । उनले जनतालाई भ्रम छरेर उक्साउनेहरुलाई परिचयका साथ पर्दा अगाडि आउन पौडेलले चुनौती दिए । उक्साउने समूह को हो भन्ने बिषयमा भने उनले केहि बताएनन् । पत्रकार सम्मेलनमा बोल्दै उद्योग, बाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्टले विकास बिरोधी जनप्रतिनिधिहरुबाटै उचालिएर कार्यक्रममा अवरोध पुर्याउन स्थानीय आएको आरोप लगाए । उनले विकासको अभियानमा अवरुद्ध गर्ने तत्वका विरुद्ध लाग्न सबैलाई आग्रह पनि गरे । विकासको विरोध गर्ने तर विकास भएन भनेर गुनासो गर्ने तत्वले स्थानीयलाई उचालेर भ्रम छाडिएको बताए । भट्टले कार्यक्रममा अवरोध गर्नेहरु प्रचण्ड नेपाल पक्षतर्फ संकेत गर्दै राजनीतिक आग्रह र पूर्वाग्रह राखेर कार्यक्रम बिथोल्न खोजिएको आरोप लगाए । ‘कार्यक्रम नगर भनेर सामान्य फोनसम्म आएको थियो, सामान्य विरोध होला भन्ने लागेको थियो, तर रुपन्देहीमा जनप्रतिनिधिका नाममा विकास नगर्ने तर विकास भएन भन्ने प्रवृतिले काम गरेको देखियो ।’ उनले भने, ‘विकास विरोधीहरुको अव जनताले प्रतिकार गर्नु पर्छ ।’ मोतिपुर औधोगिक कोरिडोरको शिलान्यास गरेर भाषण गरिरहँदा स्थानीयले माईकको लाईन काटिदिएपछि पौडेल त्यहांबाट विदा भएर निस्केका थिए ।