नेपालको राजनीतिमा अर्घाखांची’ पुस्तकबारे विमर्श

प्रकाशित मिति:

बुटवल । लेखक जेबी दर्लामी मगरले लेखेको ‘नेपालको राजनीतिमा अर्घाखांची’ पुस्तकबारे बुटवलमा विमर्श भएको छ । नागरिक चौतारी रुपन्देहीको आयोजनामा शनिबार बुटवलमा कृति विमर्श कार्यक्रम भएको हो । विमर्श कार्यक्रममा लेखक दर्लामीले अर्घाखांची जिल्लाको राजनीतिक इतिहासबारे कसैले पुस्तक प्रकाशन नगरेकाले आफूले जिल्लामा भएका विद्रोह, हिंसा र आन्दोलनलाई समेटेर पुस्तक निकालेको बताए । इतिहास बिर्सने परिपाटी नेपाली समाजमा रहेकाले इतिहासलाई जिवन्त राख्ने उद्देश्यले आफूले ‘नेपालको राजनीतिमा अर्घाखांची’ पुस्तक प्रकाशन गरेर वर्तमान र भावी पुस्तालाई हस्तान्तरण गरेको बताए ।

पुस्तकमा कुनै कमी कमजोरी भए विज्ञहरुको सुझावलाई अध्ययन गरेर सच्चाउने उनले बताए । पुस्तकारे समीक्षात्मक टिप्पणी गर्दै इतिहासकार एवं संकृतिविद् डा. गितु गिरीले पुस्तकले धेरै कुरा समेटेको बताए । राष्ट्रियता र स्वाभिमानको संरक्षणका लागि इतिहास महत्वपूर्ण हुने उल्लेख गर्दै उनले छुटेका तथ्यलाई समेटेर परिमार्जन गर्न सुझाव दिए । अर्का टिप्पणीकार राष्ट्रिय जनमुक्ति पार्टीका उपमहासचिव टोप अस्लामी मगरले पुस्तकले अर्घाखांची जिल्लाको मात्र नभई समग्र देशको राजनीतिक चित्रण गरेको टिप्पणी गर्दै लेखकको सराहना गरे । विषयवस्तु, भाषा, छपाईको गुणस्तर आदि सबै हिसाबले पुस्तक अब्बल रहेको अस्लामीले बताए । इतिहास लेख्दा सत्तामा रहेकाको मात्र नभई सबै वर्ग समुदायको र अग्रगमनको पक्षमा लेख्नुपर्ने उनले जोड दिए ।

कार्यक्रममा साहित्यकार राजेन्द्रकुमार आचार्य, आदिवासी जनजाति युवा महासंघका अध्यक्ष शंकर गाहा,रामप्रसाद पौडेल,गणेश पोखरेल लगायतले विभिन्न सुझाव राखेका थिए । नागरिक चौतारी रुपन्देहीका अध्यक्ष सुन्दर गुरुङको अध्यक्षता, सदस्य एवं सञ्चारकर्मी कमल थापाको सञ्चालनमा कार्यक्रम भएको थियो ।