रोटरीको हाफ म्याराथनमा अनिष थापालाई उपाधी, १ घण्टा ६ मिनेट ३९ सेकेण्डमा २१ किलोमिटरको दुरी पार

प्रकाशित मिति:

शनिवार रुपन्देहीमा सम्पन्न काठ्माडौं गेट खुल्ला रोटरी हाफ म्याराथन २०२१ को उपाधि पर्वतका अनिष थापा मगरले जितेका छन् । १ सय १६ प्रतिष्पर्धीलाई पछि पार्दै उनले म्याराथन जितेका हुन् ।  ‘रोटरी ईन्टरनेशनल डे’ को अवसरमा रोटरी क्लब अफ भैरहवाको आयोजनामा भएको प्रतियोगितामा बुटवलदेखि भैरहवासम्म २१ किलोमिटरको दुरी १ घण्टा ६ मिनेट ३९ सेकेण्डमा पार गर्दै थापाले उपाधि चुम्न सफल भएका हुन् । जितसंगै उनले नगद १ लाख पुरस्कार राशी प्राप्त गर्न सफल भए । यसैगरी प्रतियोगिमा उपविजेता बनेका भारतीय सेनाका दिपक सुहाङले नगद ७५ हजार प्राप्त गरेका छन् । उनले २१ किलोमिटरको दुरी १ घण्टा, ८ मिनेट २५ सेकेण्डमा पार गर्न सफल भएका थिए । त्यस्तै तेस्रो स्थान हासिल गर्ने एपीएफका किरण बोगटीले नगद ५० हजार पुरस्कार राशी प्राप्त गरे । उनले १ घण्टा ९ मिनेट ९ सेकेण्डमा दुरी पार गरे । प्रतियोगितामा सान्त्वना भएका मिलन कार्की र श्रीकेस राईले क्रमशः १ घण्टा १२ मिनेट ३८ सेकेण्ड र ३९ सेकेण्डमा दुरी पार गरेका थिए । उनीहरुले समान ५ हजार १ सय रुपैयां नगद राशी प्राप्त गरेका छन् ।

महिला धावकलाई प्रोत्साहन गर्नका लागि पुरस्कार प्रदान गरिएको थियो । महिलातर्फ नेपाली सेना ५ नम्बर बाहिनीका भावना शाहीले प्रथम स्थान हांसिल गरिन् । उनले १ घण्टा ३८ मिनेटमा दुरी पार गरेकी हुन् । त्यस्तै, १ घण्टा ४२ मिनेटमा २१ किलोमिटरको दुरी पार गरेकी मिनिषा थापा दौडमा द्धितीय स्थान प्राप्त गर्न सफल भइन् । उनी पाल्पाको सेना गणमा कार्यरत छन् । प्रतियोगितामा बर्दियाकी कल्पना थारुले २ घण्टा ३ मिनेट लगाई तृतीय स्थान ओगट्न सफल भइन् भने यमकुमारी थापा सान्तवना भएकी हुन् । जितसंगै उनीहरुले क्रमश ः २० हजार रुपैयां, १५ हजार रुपैयां, १० हजार र ५ हजार प्राप्त गरेका छन् । प्रतियोगिता लुम्बिनी प्रादेशिक अस्पतालको उत्तर ढोका पुष्पलाल पार्कबाट शुरु भई सिद्धार्थ राजमार्गको शंकरनगर, मणिग्राम, कोटिहवा, पडसरी, अंचलपुर, बुद्घचोक, बर्मेलीटोल, नारायणस्थान पथ हुँदै भैरहवाको सानू डिपार्टमेन्टल स्टोर चोकसम्म आई सम्पन्न भएको कार्यक्रम संयोजक राजकुमार गुप्ताले जानकारी दिए ।