तत्कालीन माओवादीका सांसद उम्मेदवार ओझा कांग्रेसमा प्रवेश

प्रकाशित मिति:

बिराटनगर। तत्कालिन नेकपा माओवादीका सांसदका उम्मेदवार बाबुराजा ओझा नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। ओझा २०६४ सालको संविधानसभा निर्वाचनमा माओवादीबाट मोरङमा उम्मेदवार भएका थिए । ओझा माओवादीमा प्रवेश गर्नु अघि नेपाली कांग्रेससँग आबद्ध थिए। उनले नेपाली कांग्रेस मोरङ जिल्लाको सचिवका रुपमा काम गरिसकेका थिए। माओवादी प्रवेश गरेर उम्मेदवार भएपनि उनि धेरै समय सो पार्टीमा टिक्न सकेनन् । केहि समय अगाडिदेखि स्वतन्त्र रुपमा क्रियाशील ओझाले कांग्रेस प्रवेश गर्ने साइत भने आइतबार निकाले । आइतबार विराटनगरमा कांग्रेस नेतृ सुजाता कोइरालाको नेतृत्वको जीपी फाउण्डेशनको प्रदेश नम्बर १ स्तरीय कार्यलयको उद्घाटन गर्ने कार्यक्रममा उनले पुनस् घर फिर्तीको साइत जुराएका हुन् । कांगेस महामन्त्री डा। शसांक कोइराला, डा। शेखर कोइराला र सुजाता कोइरालाले उनलाई संयुक्त रुपमा घर फिर्ती गराए । नेपाली कांग्रेसमा राम्रो पकड हुँदा हुँदै आन्तरिक खिचातानीमा पार्टी छोडेका ओझाले जीवन पर्यन्त पार्टीमा सक्रिय हुने बताए । ओझा मोरङ्ग जिल्लाका प्रभावशाली नेताका रुपमा परिचित रहेका छन्।
ओझाको पुनरागमनले पार्टीलाई थप उर्जा मिल्ने स्थानीय कांग्रेस कार्यकर्ताले बताएका छन् । सोहि अवसरमा महामन्त्री डा शशाङ्क कोइरालाले राष्ट्र निर्माणका लागि राजनीतिमा युवाको सहभागिता बढाउनुपर्ने बताए । महामन्त्री कोइरालाले पार्टीको उज्ज्वल भविष्य निर्माण गर्न एकताको विकल्प नरहेको र यसैको माध्यमबाट देशको विकास हुने कुरामा जोड दिए । उनले विगतमा कांग्रेसका नेता गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा रहेको सरकारबाट धेरै परिवर्तनका काम भएको स्मरण गराउँदै कोइराला परिवारका हामी तीनै जना नेता एक रहेको स्पष्ट पारे ।

केन्द्रीय सदस्य डा शेखर कोइरालाले सरकार स्थिर भए पनि देशको राजनीतिमा तरलता छ भन्दै कांग्रेसमा संवादहीनताका कारण पार्टीभित्र समस्या देखापरेको बताए । जिपी फाउण्डेशनका सभापति सुजाताले कांग्रेसको पहिचान समाजवाद, राष्ट्रियतालाई कसैले पनि बिर्सन हुँदैन भन्दै जननायक नेता बिपी कोइरालाको सपना पूरा गर्न सहमति, सहकार्य र एकताको खाँचो रहेको बताइन् ।

कार्यक्रममा जिपी फाउण्डेशन प्रदेश नं १ का सभापति इन्दिरा थापा, कांग्रेसका नेता अमृत अर्याल, हसन अन्सारी, पदमनारायण चौधरी, सांसद सीताराम मेहता, रञ्जीत कर्ण, विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली, नेपाली कांग्रेस मोरङका सभापति डिकबहादुर लिम्बूले आफ्नो मन्तब्य राखेका थिए । कार्यक्रम स्थलमा नेपाली राजनीतिका शिखर पुरुष पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको तस्बीर पनि प्रदर्शनमा राखिएको थियो ।