राममणि बहुमुखी क्याम्पसको नयाँ भवनको शिलान्यास

प्रकाशित मिति:

मणिग्राम, २३ फाल्गुण, आइतबार । लुम्बिनी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लिला गिरिले उच्च गुणस्तरका कारण लुम्बिनी प्रदेशको गहनाका रूपमा रहेको राममणि बहुमुखी क्याम्पसलाई अझ विकास गर्न सरकार तयार रहेको बताउनुभएको छ । क्याम्पसको ३३ औं वार्षिकोत्सवका अवसरमा नयाँ भवनको शिलान्यास समेत गर्दै सो क्षेत्रका प्रदेशसभा सदस्यसमेत रहनुभएका मन्त्री गिरिले राममणि नेपालकै उदाहरणीय मध्ये एक क्याम्पसका रूपमा परिचित भएकोमा गर्व लागेको बताउनुभयो ।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष रोमणीप्रसाद पाठकको अध्यक्षतामा भएको वार्षिकोत्सव कार्यक्रममा तिलोत्तमा नगरपालिकाका नगरप्रमुख बासुदेव घिमिरेले तिलोत्तमाको विशिष्टतामा राममणि क्याम्पसको समेत योगदान रहेको उल्लेख गर्नुभयो । साथै, विगतदेखि नै नगरपालिकाले क्याम्पसको विकाशमा सहयोग गर्दै आएकोमा आगामी दिनमा क्याम्पसको स्तरोन्नतिका लागि सहयोग गर्न नगरपालिका तयार रहेको बताउनुभयो । सहायक क्याम्पस प्रमुख जगन्नाथ बस्यालको सञ्चालनमा भएको वार्षिकोत्सवकै अवसरमा क्याम्पस परिसरमा मन्त्री गिरिसहित, नगरप्रमुख घिमिरे, क्याम्पसका अध्यक्ष पाठक लगायतका अतिथि एवम् विद्यार्थीहरूले फलफुलका विरूवा रोप्नुभएको थियो ।

क्याम्पसका उपाध्यक्ष धु्रवकुमार धितालको स्वागतमा भएको कार्यक्रममा क्याम्पस प्रमुख ताराप्रसाद पराजुलीले वार्षिक प्रतिवेदन पेश गर्दै क्याम्पस स्तरोन्नतिका योजना प्रस्तुत गर्नुभएको थियो ।सो अवसरमा क्याम्पस सभा सदस्य केशव न्यौपाने, सञ्चालक समितिका सदस्य विष्णुप्रसाद पौडेल, संस्थापक क्याम्पस प्रमुख प्रोफेसर सुदर्शन नेपाल, पूर्व क्याम्पस प्रमुख प्रोफेसर डा। गणेशप्रसाद पाठक, प्राध्यापक संघका सभापति राजेन्द्र थापामगर, कर्मचारी संघका सभापति अम्बिका न्यौपाने लगायतले बोल्नुभएको थियो ।सोही अवसरमा क्याम्पसको अनुसन्धान समितिले प्रकाशन गरेको डा। खगराज शर्माद्वारा सम्पादित “द जर्नल अफ एकेडेमिक डेभलपमण्ट”को छैटौं अंक र सार्वजनिक सूचना एकाइ समितिले प्रकाशन गरेको गोपाल पन्थीद्वारा सम्पादित वार्षिक मुखपत्र “दीपिका”को सोह्रौं अंक नगरप्रमुख घिमिरेले विमोचन गर्नुभएको थियो । उप–प्राध्यापक मुक्तिनाथ गैह्रेको सञ्चालनमा भएको सांस्कृतिक तथा पुरस्काकार वितरण कार्यक्रममा वार्षिक शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कार, पदक तथा प्रमाणपत्र सहित सम्मानित गरिएको थियो । कार्यक्रममा विद्यार्थीका गीत, कविता, गजल तथा साँस्कृतिक प्रस्तुतिहरू प्रस्तुत गरिएको थियो ।