आफ्नै उत्पादन भित्र्याएर मनाए वालिङका महिलाहरुले अन्तराष्ट्रिय महिला दिवस ।

प्रकाशित मिति:

वालिङ- वालिङका महिलाहरुले आफ्नै उत्पादन भित्र्याएर अन्तराष्ट्रिय महिला दिवश मनाएकाछन् । वालिङ ८ को समाजसुधार बहुउदेश्यीय आमा समूहका सदस्यहरुले आफैहरुले सामुहिक रुपमा उत्पादन गरेको आलु भित्र्याएर दिवस मनाएका हुन् । वालिङको मूख्य बजारका ७० जना महिलाहरुको सक्रियतामा स्थापना भएको समूहले सामुहिक खेती अन्तरगत आलु खेती गरेको समूहका अध्यक्ष प्रेमकुमारी रेग्मीले बताउनु भयो ।

दियालो संस्थाले उपलव्ध गराएको आलुको बिउलाई सामुहिक रुपमा लगाईएको र उत्पादन पनि राम्रो भएको संस्थाका सचिव ईन्दिरा गैह्रेले बताउनु भयो ।वालिङ उद्योग बाणिज्य संघ महिला उद्यमी समूहकी अध्यक्ष समेत रहनु भएकी कविता भूषालले भन्नुभयो, “सामुहिक रुपमा खेती गर्दा निक्कै आनन्द आएको छ । अव हामी यसलाई निरन्तरता दिन्छौं ।”
उत्पादन भएको आलु सदस्यहरुलाई नै बिक्री गरीने र समूहको कोष बृद्धि गरीने अध्यक्ष रेग्मीले स्पष्ट पार्नु भयो ।

उहाँले थप्नु भयो, “आगामी दिनमा सामुहिक खेतीको लागि अरुको भर पर्नु नपर्ने अवस्थामा पुग्न हामीहरु लागि परेका छौंं ।”
वालिङ नगरपालिका र संयुक्त राष्ट्रसंघीय बिकास कार्यक्रम (युएनडिपी) को आर्थिक सहयोग तथा दियालो संस्थाको व्यवस्थापनमा वालिङमा सञ्चालित “कोभिड १९ उद्धार र सामाजिक आर्थिक प्रतिकार्य परियोजना” अन्तर्गत सो समूहले ५ रोपनी जग्गा लिजमा लिएर आलु खेती गरेको हो ।