प्रचण्ड-नेपाल स्थायी कमिटीको निर्णय : पूर्वएमाले र पूर्वमाओवादी अलग भएर जाने

प्रकाशित मिति:

काठमाडौं, फागुन २४ : नेकपा प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठकले पूर्वएमाले र पूर्वमाओवादी अलग भएर जाने निर्णय गरेको छ। नेकपा कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले अलग भएर जाने निर्णय गरेको नेकपा वरिष्ठ नेता झलनाथ खनालले बताए। उनको अनुसार अब पूर्वएमाले र पूर्वमाओवादी अलग भएर जानेछन्।

नेकपा एमाले र नेकपा माओवादी केन्द्र तीन वर्ष अघि एकीकरण भएर नेकपा बनेको थियो। नेकपाको नामको पार्टी त्यसअघि नै निर्वाचन आयोगमा दर्ता थियो।त्यसका विरुद्ध नेकपा अध्यक्ष ऋषिराम कट्टेलले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए। नेकपा नामसम्बन्धी विवादमा आइतबार सर्वोच्च अदालतले फैसला सुनाउँदै कट्टेललाई नाम दिएको थियो।त्यससँगै एमाले र माओवादी एकीकरण गर्ने सर्वोच्चको निर्णय पनि बदर गरेको थियो। दुवै पार्टीलाई पुनः एकीकरण गर्न सुझाएको थियो।

सर्वोच्चको आदेशसँगै एमाले र माओवादी पार्टी ब्युँतिएका थिए। सोमबार बसेको प्रचण्ड नेपाल समूहको स्थायी कमिटी बैठकले पूर्वएमाले र पूर्वमाओवादी अलग भएर जाने निर्णय गरेको हो। बैठकमा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाललगायत नेताहरु सहभागी थिए।भर्खरै प्रचण्ड नेपाल समूहको स्थायी कमिटी बैठक सकिएको छ। बैठक सकिँएसँगै नेताहरु बाहिर निस्किएका छन्। उनीहरुले सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिएका छन्। अलगअलग भएर जाने निर्णय भएको उनीहरुले बताएका छन्।