हस्तकला ब्यापार मेला एक करोड २० लाखको कालचक्र

प्रकाशित मिति:

काठमाडौं। राजधानीमा चलेको १६ औं हस्तकला ब्यापार मेलामा ९ करोड रुपैयाँको व्यापार भएको छ। तर आयोजक हस्तकला महासंघले अनुमान गरे भन्दा एक करोडको कम व्यापार भएको हो। मेलामा ४८ जिल्लाबाट राजधानी आएका हस्तकला उद्योगी र विदेशका गरी १ सय ७० स्टल राखिएको थियो।

मेलामा भाङ ९गाँजा० को लोक्तापाट बाट बनाइएका २५० रुपैयाँका क्यापदेखि १ करोड २० लाख रुपैयाँ मूल्यका कालचक्र मूर्तीसम्म राखिएका थिए। कालचक्र अर्थात् समय चक्रको रुपरेखा खिचेर तयार पारिएको कलात्मक मूर्तीसँगै दायाँ बायाँ राखिएका तारा र बुद्ध मूर्तीका मूल्य ७५७७५ लाख रुपैयाँका थिए। तामाका यी मूर्तीमा कलासँगै सुनको जलप लगाइएका कारण महंगो हुने व्यापार मेला संयोजक, हस्तकला महासंघका पूर्व अध्यक्ष हेमरत्न शाक्यले जानकारी दिए।

पाँचदिन सम्म चलेको हस्तकला मेलामा अल्लोका लोक्ताले बनाइएका सामग्रीदेखि काष्टकला, प्रस्तर कला र धातुका मूर्ती, राडीपाकी र स्थानीयस्तरमा उत्पादिन कपडासम्म राखिएका थिए। राजधानीमा चलेको हस्तकला मेलामा दैलेखको सल्लेरी राडीपाकी उत्पादन समूहको राडीपाकी पनि राखिएको थियो। समूहका एकजना सदस्य नर बहादुर बस्नेतले भेडाको उनबाट बनाइएका करीब २ लाख रुपैयाँका राडीपाकी कटाए।

८ फिट लम्बाइ र ५ फिट चौडाइ राडीको ७ हजार रुपैयाँ मूल्य राखेका बस्नेतले यसको विशेषताबारे जानेसुनेका सबै सुनाए, दाबी सहित। उनले भने ठमेलको होटलमा बस्याछौं यो पाँचदिन बस्दा हजुर दिनैभरी सय किलोको भारी बोकेर हिँड्या जस्तो जीउ दुख्छ । यो राडी ओछ्याएर सुत्यो भने जीउ दुखेको ठीक हुन्छ, नसा सम्बन्धी, हाड जोर्नी दुखेको, ढाड दुखेको, प्यारालाइसिस, पेट दुखेकोदेखि जण्डीसका बिरामीलाई समेत राम्रो हुन्छ। हिजोआज आउने रंगी विरंगी प्रोडक्टको विज्ञापनभन्दा उनको विज्ञापन कम लागेन। मेला आयोजनाका लागि वाणिज्य मन्त्रालयले दिएको २५ लाख सहित एक करोड रुपैयाँ खर्च भएको आयोजकले जनाएको छ। राजधानीको भृकुटीमण्डमा चलेको मेला १ लाख ३५ हजारले अबलोकन गरेको मेला संयोजक हेमरत्न शाक्यले जानकारी दिए । बाहिरी जिल्लाबाट प्रदर्शनीमा आएका उद्योगीलाई खानेबस्ने र आतेजाते व्यवस्था गरिबी निवारण कोषले गरेको थियो।