किरातेश्वर मन्दिर गुल्मीमा लुम्बिनि प्रदेशकै अग्लो शिव मुर्तिको उद्घाटन

प्रकाशित मिति:

झविन्द भण्डारी, गुल्मी । किरातेश्वर महादेव शिवालय मन्दिर धुर्कोट गाउँपालिका ५ वस्तुमा लुम्बिनी प्रदेशकै अग्लो मानिएको नव निर्मित शिव मुर्तिको उद्घाटन गरिएको छ ।विहिवार मन्दिर प्रांगणमा भव्य कार्यक्रमका साथमा धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले नव निर्मित मुर्तिको उद्घाटन गर्नुभएको हो ।जन स्तरबाट स्वैच्छिक रूपमा संकलन भएको करिब ७ लाखको लागतमा१७ फिट अग्लो शिव मुर्ति तथा राम, लक्ष्मण र सीता समेतका मुर्तिको उद्घाटन गरिएको हो ।किराँतेश्वर मन्दिरले आयोजना गरेकने नवौँ साधारण सभा तथा नव निर्मित मुर्ति उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले जन स्तरबाट निर्माण भएको मुर्ति गाउँपालिकाको मात्र नभई लुम्बिनी प्रदेशकै धार्मिक स्थलका रूपमा विकास भएकोमा सबैलाई धन्यवाद व्यक्त गर्नुभयो । छोटो समयमा किरातेश्वर मन्दिरले संस्कृतको विकास गर्न संस्कृत पाठशाला तथा भजन कृतनको जगेर्ना गर्ने कार्यमा समेत मन्दिर अग्रसर भएको हुँदा गाउँपालिकाले थप सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।


त्यस्तै विशेष अतिथि वडा नं। ५ का वडा अध्यक्ष ढुण्डीराज भण्डारीले वस्तु मात्र नभई धुर्कोट गाउँपालिकाकै लागि किरातेश्वर मन्दिरमा भएको कार्यक्रम र नव निर्मित मुर्तिले एउटा पहिचान कायम गरेको बताउदै यसको संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो । विहान ७ वजेदेखि मुर्तिको प्राण प्रतिष्ठा बाट सुरू भएको कार्यक्रम मुर्ति उद्घान, विभिन्न देवताका झाकी प्रदर्शन, बृहत् भजन कृतन तथा भव्य शिव पुजा समेत गरिएको थियो ।
कार्यक्रममा धुर्कोट परमानन्द भण्डारी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख कृष्णप्रसाद भण्डारी, विभिन्न क्षेत्रका समाजसेवी व्यक्तित्व, पत्रकार, सुरक्षाकर्मी लगायतका व्यक्तिहरूको उपस्थिति रहेको थियो । कार्यक्रममै सचिव नन्दरामा भण्डारीले नव निर्मित मुर्ति तथा मन्दिरको आय व्यय प्रस्तुत गर्नुभएको थियो ।मन्दिर सञ्चालक समितिका अध्यक्ष हुमलाल भण्डारीको अध्यक्षता रहेको कार्यक्रमको सञ्चालन सचिव नन्दरमा भण्डारीले गर्नुभएको थियो । कार्यक्रमको सामुदायिक रेडियो धुर्कोटबाट प्रत्यक्ष प्रसारण समेत गरिएको थियो ।