छायाँक्षेत्र मन्दिर एकवर्ष पछि चहलपहल

प्रकाशित मिति:

महाशिवरात्रीमा दर्शन गर्ने भक्तजनको घुईचो

स्याङ्जा—२७ फागुन, विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड–१९ संक्रमणको उच्च जोखिमका कारण वन्द रहेका धार्मिक मठ मन्दिर नेपाल सरकारले खुला गरेपछि पहिलो पटक स्याङ्जाका मठ मन्दिरमा भिडभाड देखिएका छन् । झण्डै एक वर्षदेखि सुनसान रहेका स्याङ्जाको प्रसिद्ध छायाँक्षेत्र मन्दिरमा विहिवार महाशिवरात्री पर्वको दिन निकै भिडभाड देखियो । विगतका वर्षहरुमा मेलाको रुपमा पाँचदिन सम्म मनाइने महाशिवरात्री पर्व यसवर्ष भने एकदिन मात्र मनाउने निर्णय गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पिताम्वर श्रेष्ठले वताए । लामो समय लकडाउनका कारण घरमै बसेका मानिसहरु विस्तारै जनजिवन सामान्य वनाउदै लगेको वेला महाशिवरात्रीको अवसरमा दर्शन गर्न आउने भक्तजनको भिड विगतको तुलनामा कम रहेपनि आफ्नो स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर मन्दिर दर्शनको व्यवस्था मिलाइएको उनले जानकारी दिए ।

जिल्ला मात्रै नभएर गण्डकी प्रदेशककै महत्वपूर्ण धार्मिक स्थल छायाँक्षेत्र मन्दिरमा महाशिवरात्रीमा उक्त मन्दिरमा हरेक वर्ष हजारौं दर्शनार्थीले स्नान गरी भगवान शिवजीको दर्शन गर्ने परम्परा रहेको छ । यसवर्ष अन्दाजी दश हजार दर्शनार्थीले मन्दिरमा प्रवेश गरी भगवान शिवको पुजा आरधना गरेको मन्दिर व्यवस्थापन समितीले जानकारी दिएको छ । मन्दिर व्यवस्थापन समितीले यसवर्षको शिवरात्रीमा मन्दिरमा सहजरुपमा स्नान गर्ने व्यवस्था मिलाइएको जनाएको छ । भक्तजनलाई छिटो दर्शन गर्न रु १ सय को टिकट काटेर मन्दिर प्रवेशको व्यवस्था मिलाइएको जनाएका छन् ।
श्रीस्वस्थानी वर्त कथामा भनिए अनुसार भगवान शिवले पहिलो बिबाह गरेका सतिदेवीको स्वर्गारोहण भएपछि अर्ध पागलको रुपमा सतीदेवीको मृत शरिर लिएर हिँडदा हिँडदै गलेको शरिरको अन्तिम अंग खसेको धार्मिक बिश्वासका साथ छायाँक्षेत्र मन्दिरमा भक्तजनको भिड लाग्ने गरेको छ । छायाँक्षेत्रमा शिवजीका एतिहासिक ढुँगाका मुर्तिहरु देख्न पाइन्छ भने छायाँक्षेत्र परिसरमा रहेको सुरुङ जहाँवाट नियमित जलधारा आउने गर्छ, त्यो सुरुङमार्ग नेपालको सवैभन्दा लामो सुरुङमार्ग रहेको स्थानियबासीहरु बताउछन । जसका कारण आन्तरिक तथा वाह्रय पर्यटकहरु समेत उक्त स्थानमा आउने गर्दछन । एक बर्षपछि दर्शन गर्न पाइएको छायाक्षेत्र मन्दिरमा जिल्ला र जिल्लाभन्दा बाहिरी जिल्लाका धार्मिक भक्तजनहरु दर्शन गर्न आएका थिए । यसैगरी महाशिवरात्री पर्वको अवसरमा जिल्लाका अन्य प्रसिद्ध धार्मिक स्थल रामनदी धाम राम्दी, सेतीवेणी, केलादीघाट, केदारनाथ मन्दिर, पंचासेधाम लगायतका धार्मिक मठ मन्दिरमा भक्तजनहरुको उत्साहजनक उपस्थिती रहेको थियो ।