७० वर्षदेखि लडेर ल्याएको संविधानलाई ध्वंस गर्ने प्रयत्न विरुद्ध फेरि एकपटक क्रान्तिको आँधीबेहरी ल्याईन्छ : प्रचण्ड

प्रकाशित मिति:

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशमा पुन : एकपटक शान्तिपुर्ण आन्दोलन गर्ने बताएका छन् । उनले देशमा फेरि एकपटक अनिष्ट निम्त्याउन खोजिएको भन्दै संविधान रक्षाका लागि दलित समुदायको साथ र सहयोग आवश्यक रहने बताए । आज बुटवलमा राष्ट्रिय दलित पत्रकार संघ नेपालको प्रथम महाधिवेशन उदघाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पछिल्लो केही समय यता देशमा परिवर्तनलाई उल्ट्याउन विभिन्न घटना घटाईएको बताए । प्रचण्डले देशमा संविधानलाई रक्षा गर्ने कि हत्या गर्ने भन्ने बहस सुरु भएको बताए ।

अध्यक्ष प्रचण्डले अहिलेसम्मका आन्दोलन र क्रान्तिबाट प्राप्त उपलब्धीलाई उल्ट्याउनका लागि षड्यन्त्र गरिएको बताए । संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र गणतन्त्रलाई सिध्याउन प्रयास गरिएको बताए । तर, ती उपलब्धीलाई कुल्चिने प्रयास भए ७० वर्षदेखि लडेर ल्याएको संविधानलाई ध्वंस गर्ने प्रयत्न विरुद्ध फेरि एकपटक क्रान्तिको आँधीबेहरी ल्याउनुपर्ने उनले जनाए ।

प्रचण्डले सर्वोच्च अदालतले हालै नेपाल कम्युनिष्ट पार्टी खारेजीको सम्बन्धमा गरेको फैसलाप्रति संकेत गर्दै जन्मिसकेको वच्चालाई पुनः गर्भमा पठाउन खोजिएको टिप्पणी समेत गरे । उनले आश्चर्यमान्दै भने, यस्तो अचम्म पनि हुँदोरहेछ । अध्यक्ष प्रचण्डले अहिले सबैभन्दा धेरै घेरावन्दी आफुमाथि भएको पनि बताए । ‘प्रतिगामी र परिवर्तन विरोधीले, संघीयता, गणतन्त्र, समानुपातिक, समावेशी मन नपाराउने देशी विदेशी शक्तिहरु सबै मिलेर यो परिवर्तनका लागि अग्रगामी भूमिका खेल्ने नेताहरुको बद्नाम गर्ने कोशिस भैरहेको छ ।’