बुटवल, फागुन २९ । बुटवलमा रहेको सिसिआईले माइक्रोसफ्ट अफिस स्पेसलिस्ट वल्ड च्याम्पियनसीप गर्ने भएको छ । प्रतियोगिताबारे जानकारी दिन रुपन्देहीका विद्यालय तथा क्याम्पसमा अध्यापनरत कम्प्युटर शिक्षकहरु तथा प्रिन्सिपलहरुका लागि एक दिने अभिमुखिकरण कार्यक्रम गरिएको छ । लुम्बिनी अञ्चलका लागि आधिकारिक संस्थाका रुपमा सिसिआईले प्रतियोगिताको समन्वय गर्न लागेको हो ।
संस्थाका प्रबन्ध निर्देशक राजु थापाको अध्यक्षतामा भएको अभिमुखिकरण कार्यक्रममा प्रशिक्षक दिनेश लामिछानेले सहजिकरण गर्नुभएको थियो । कार्यक्रममा हिसान रुपन्देहीका अध्यक्ष कृष्ण प्रसाद पौडेल, एम्स कलेजका प्रमुख दिपक ढकाल लगायतले बोल्दै संस्थागत सहकार्यका लागि प्रतिवद्धता जनाउनुभयो ।
अफिसहरुमा प्रयोगमा आउने सफ्टवयरहरु माइक्रोसफ्ट अफिस वर्ड, एक्सल र पावरप्वाइन्टका अनलाईन विधिबाट निःशुल्क तालिम दिई प्राप्त गरेको सिप परिक्षण गर्ने र प्रतियोगितामा उत्कृष्ट हुनेलाई नगद पुरस्कार प्रदान गरिने छ । प्रतियोगितामा सहभागी विद्यार्थीहरुलाई जिल्लागत तथा राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गराई उत्कृष्टलाई अन्तर्राष्ट्रिय प्रतियोगीतामा सहभागी गराईनेछ । जिल्लागत रुपमा उत्कृष्ट हुनेले नगद १५ हजार, राष्ट्रिय रुपमा उत्कृष्ट हुनेले ५० हजार र अन्तर्राष्ट्रिय तहमा उत्कृष्ट हुनेले ७ हजार अमेरिकी डलर, प्रमाणपत्र, ट्रफी र छात्रवृत्ति प्राप्त गर्नेछन् ।
यस प्रतियोगितामा विश्वका १ सय ३५ देशका विद्यार्थीहरुले सहभागिता जनाउने छन । प्रतियोगितालाई स्थानीय स्तरमा लुम्बिनी अञ्चलका ६ वटा जिल्लाहरु रुपन्देही, पश्चिम नवलपरासी, कपिलवस्तु, अर्घाखाची, गुल्मी र पाल्पाका लागि सहजीकरणको आधिकारिता सिसिआई बुटवलले प्राप्त गरेको छ ।
विद्यार्थीहरुलाई प्रतियोगीतामा समावेस गराउने र पुरस्कार जित्न अभिप्रेरित गर्ने मात्र नभई उनीहरुलाई जागिरको अवसर प्राप्त गर्न र उच्च शिक्षामा सफलता हासिल गर्न समेत सहयोग गर्नु प्रतियोगिताको उद्धेश्य रहेको प्रबन्ध निर्देशक थापाले बताउनुभयो । जिल्ला स्तरीय प्रतियोगिताका लागि संस्थाले सम्पूर्ण तयारी पुरा गरिसकेको र लुम्बिनी अञ्चलका छ वटै जिल्लामा गएर सहभागीहरु छनौट गरिने थापाले जानकारी दिनुभयो ।
आगामी वैशाख २४ देखी जेठ ८ गते सम्ममा जिल्ला स्तरीय, जेठ २३ देखि २८ गते सम्ममा राष्ट्रिय र साउन १७ देखि २० गते सम्म अन्तर्राष्ट्रिय सबै प्रतियोगीता सम्पन्न हुनेछन् ।
कम्तिमा १३ वर्ष पुरा भएको र २२ वर्ष नकाटेको जो कोही नेपाली नागरिक प्रतियोगितामा सहभागी हुन सक्नेछन् ।
जिल्ला स्तरीय प्रतियोगितामा छनौट भएका प्रतिस्पर्धीहरु राष्ट्रिय प्रतियोगितामा छनौट हुने छन । च्याम्पियनसीपका लागि ७७ वटै जिल्लाका ४ सय ६२ जना प्रतिस्पर्धीबीच राष्ट्रिय रुपमा अन्तिम प्रतिस्पर्धा हुनेछ । त्यसबाट छनौट भएका ६ जना उत्कृष्ट प्रतियोगीहरु (प्रत्येक विधाका २ जना) इन्टरनेशनल च्याम्पियनसीपको लागि स्वतः छनौट हुनेछन् । उनीहरु माइक्रोसफ्टद्धारा अमेरिकाको ओर्लान्डो, फ्लोरिडामा आयोजना हुने अन्तिम प्रतिस्पर्धामा सहभागी हुनेछन । यस प्रतियोगितामा नेपालका हिमाल श्रेष्ठले सन २०१३ मा वल्र्ड च्याम्पियनको उपाधी हासील गरिसकेका छन् ।