विपद ब्यवस्थापनका लागि ‘विपद पोर्टल’ सञ्चालन

प्रकाशित मिति:

तोलाकान्त बगाले, वालिङ, १ चैत । स्मार्ट सिटीको अवधारणामा अगाडि बढ्दै गरेको स्याङ्जाको वालिङ नगरपालिकाले विपद ब्यवस्थापनमा जोड दिंदै ‘विपद पोर्टल’ सञ्चालनमा ल्याएको छ ।विपदसम्बन्धी सूचना तथा तथ्याङ्क सङ्कलन गर्ने, प्रविष्टि गर्ने र प्रतिवेदनमा संलग्न जनशक्तिलाई पोर्टल प्रयोग गर्न सहजीकरण गर्ने, विपद ब्यवस्थापन सम्बन्धी तथ्याङ्कलाई एकरुपता प्रदान गर्ने र पोर्टलको उपयोगिता बढाउन सहयोग पु¥याउने उद्देश्यले ‘विपद पोर्टल’ निर्माण गरी सञ्चालनमा ल्याईएको वालिङ नगरपालिका सूचना प्रविधि शाखा प्रमुख ई. प्रकाश अर्यालले बताउनुभयो ।यूथ ईनोभेसन ल्याब प्रा. लि. काठमाडौंको प्राविधिक सहयोगमा निर्माण गरिएको पोर्टलको प्रयोगले जोखिम न्यूनिकरणका लागि महत्वपूर्ण भूमिका खेल्ने उहाँले बताउनुभयो ।संभावित जोखिमयुक्त स्थानमा रहेका वालिङका नागरिकको विपदकै कारण जनधनको क्षति हुन नपाओस् भन्नका लागि एकै ठाउँबाट विपद पूर्वको अवस्थाकाबारेमा जानकारी दिईने उहाँले बताउनुभयो ।“यस पोर्टललाई थप ब्यवस्थित बनाउँदै आगामी दिनमा सेन्सर जडान गरी ‘अर्ली वार्निङ सिस्टम’ मार्फत नागरिकलाई थप सुसूचित गराई जनधनको क्षति हुनबाट जोगाउने तयारी छ” उहाँको भनाई थियो । ‘विपद पोर्टल’ एकीकृत विपद सूचना ब्यवस्थापन प्रणाली हो जुन नेपाल सरकारको गृह मन्त्रालयले आरम्भ गरेको र राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा ब्यवस्थापन प्राधिकरणको स्वामित्वमा रहेको छ यूथ ईनोभेसन ल्याबका कार्यकारी निर्देशक प्रदीप खतिवडाले बताउनुभयो ।

“विपद जोखिम ब्यवस्थापनका क्षेत्रमा पूर्व तयारी तथा जोखिम न्यूनिकरण कार्य गर्नलाई सूचना तथा तथ्याङ्क संकलन गर्ने र संकलित तथ्याङ्कको प्रयोगका लागि ‘विपद पोर्टल’ ले विशेष महत्व दिएको छ” ल्याबका निर्देशक खतिवडाले भन्नुभयो, “विपदका सूचना तथा तथ्याङ्कहरु एकैठाउँबाट सबैले जानकारी पाउन सक्ने, हरेक घटनाको ब्यवस्थापन र राहत वितरण कार्यसमेत नदोहोरिने गरी प्रभावकारी तरिकाले कार्य गर्नका लागि पोर्टल सञ्चालन गरिएको हो ।”

‘विपद पोर्टल’ मा विपदसम्बन्धी विभिन्न विधाका सूचना तथा तथ्याङ्क एकीकृत गरी ब्यवस्थापन गरिन्छ । विपद जोखिम न्यूनिकरण तथा ब्यवस्थापन कार्यका लागि सूचना तथा तथ्याङ्कहरुको आवश्यकता अनुसार प्रयोग गर्न सकिने छ । स्थानीय तहमा रहेका स्रोत र साधन, घटनाहरुको विवरण, क्षतिको विवरण आदिको जानकारी दिन र लिन सकिने गरी सूचना ब्यवस्थापन प्रणालीलाई ब्यवस्थापन गरिएको ल्याबका निर्देशक खतिवडाले बताउनुभयो ।