झलनाथ नेपाल पक्षले बुझायो निर्वाचन आयोगमा पत्र

प्रकाशित मिति:

नेकपा एमालेका माधव झलनाथ पक्षले ओली पक्षले फागुन २८ गते गरेको एकलौटी निर्णय कार्यान्वयन नगर्न माग गर्दै निर्वाचन आयोगमा पत्र बुझाएको छ । वरिष्ठ नेता झलनाथ खनाल माधवकुमार नेपालसहितका पदाधिकारीहरु आयोग पुगेर दुई पन्ने पत्र बुझाउँदै ओलीको निर्णय कार्यान्वयन नगर्न माग गरेका हुन् । एमाले अध्यक्ष ओलीले बालुवाटारमा आफु पक्षीय केन्द्रीय सदस्यहरुलाई बोलाएर त्यसैलाई केन्द्रीय कमिटीको बैठक भन्दै पदाधिकारी खारेज गरेका थिए भने माओवादी केन्द्रबाट आफुलाई साथ दिएका २३ नेतालाई केन्द्रीय सदस्य बनाएका थिए । अध्यक्ष ओलीले एमालेको नवौं महाधिवेशनबाट पारित विधानमा रहेको बाधा अड्काउ धारा प्रयोग गर्दै आफुमा रहेको विशेषाधिकार प्रयोग गरेको जनाएका थिए । ओलीले विधानमा रहेको ७० वर्षे उमेर हद पनि खारेज गरेका थिए । नेपाल पक्षले निर्वाचन आयोगलाई बुझाएको पत्रमा पार्टी विधानको धारा १३ र १३ क बमोजिम विधान संशोधन राष्ट्रिय महाधिवेशन या विधान अधिवेशनले मात्रै गर्न सक्ने उल्लेख गरेको छ । नेपाल पक्षले ओलीले बालुवाटारमा राखेको बैठक नै अवैध भएको दाबी गरेको छ ।