नयाँ वर्ष २०७८ को पूर्व सन्ध्यामा रुपन्देही व्यापार संगठनले बृहत सडक महोत्सव गर्दै

प्रकाशित मिति:

नयाँ वर्ष २०७८ को पूर्व सन्ध्यामा भैरहवामा बृहत सडक महोत्सव हुदैछ । उद्योग ब्यपार संगठन, रुपन्देहीको आयोजनामा “सिद्धार्थ सडक खाना महोत्सव तथा बृहद सांस्कृतिक कार्यक्रम–२०७७” हुने भएको छ । उद्योग ब्यपार संगठन, रुपन्देहीको मूल आयोजनामा हुने कार्यक्रममा सिद्धार्थनगर नगरपालिका र उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय लुमिबनी प्रदेशलाई सह आयोजकको रुपमा प्रस्ताव पेश गर्ने संगठनका अध्यक्ष नारायण प्रसाद भण्डारीले बताए । महोत्सव चैत्र ३१ गते साँझ ५ बजे देखी राती १२ बजेसम्म चल्ने भएको हो । यस क्षेत्रको जातजातिको मौलिक सांस्कृतिक र संस्कारहरुको संरक्षण तथा उनिहरुको खानाको परिकारहरुको प्रर्वद्धन गर्नु कार्यक्रमको उद्देश्य रहेको उद्योग ब्यपार संगठन, रुपन्देहीका नारायण प्रसाद भण्डारीले बताए ।

यसै गरि भैरहवाको प्रवेशद्धार भैरहवा एवम लुम्बिनीको आन्तरिक तथा बाह््रय पर्यटनको प्रर्वद्धन गर्दै नयाँ बर्षलाई उल्लास र उमंगका साथ मनाउन समेत यो महोत्सव आयोजना गरिएको भण्डारीले बताए । कोभिडका कारण थला परेको पर्यटन तथा होटल ब्यवसायलाई महोत्सवले पुनरोत्थान गर्ने अपेक्षा गरिएको उनले बताए । भैरहवाको देवकोटा चोक देखी बसपार्क क्षेत्र सम्म हुने महोत्सवमा ५० देखी १ सय वटा बिभिन्न परिकारका स्टलहरु राखिने कार्यक्रम संयोजक सचिन रोक्काले बताए । उनले कार्यक्रममा भैरहवा बाहेक बुटवल, तिलोत्तमा, लुम्बिनी, छिमेकी ग्रामीण क्षेत्रका बासिन्दाका साथै भारतिय क्षेत्रबाट पनि महोत्सव अवलोकन गर्न आउनेमा आयोजक आशावादी रहेको बताए । महोत्सवलाई ५० हजार भन्दा बढी दर्शकले अवलोकन गर्ने र करिब १ करोड बराबरको कारोबार गर्ने आयोजकको अपेक्षा रहेको छ ।