राष्ट्रिय दलित पत्रकार संघले बुटवल घोषणा पत्र जारी गरेको छ । संघको बुटवलमा सम्पन्न प्रथम अधिवेशनले १३ बुँदे बुटवल घोषणा पत्र जारी गरेको हो । दलित समुदायको सामाजिक न्याय, समानता, समावेशीता, लोकतन्त्र र सबै प्रकारका विभेदको अन्त्यका लागि एक वडा एक दलित पत्रकार अभियान थाल्ने भएको छ । दलित समुदायको सञ्चारमाध्यमलाई राज्यले गर्ने वर्गिकरणमा विभेद रहित मूल्यांकनका लागि पहल गर्ने निर्णय गरेको छ । यसैगरि नेपाल पत्रकार महासंघमा दलित पत्रकारहरुको सदस्यता वृद्धिका लागि पहल गर्ने, र महासंघको केन्द्र, प्रदेश, जिल्लामा पूर्ण समावेशीताको लागि पहल गर्ने निर्णय गरेको छ । दलित समुदायका पत्रकारलाई योग्यता क्षमताका आधारमा विभिन्न सरकारी तथा निजी सञ्चार माध्यममा नेतृत्वदायी भूमिकामा पुर्याउनका लागि पहल गर्ने, सञ्चार गृहमा पूर्ण समावेशी सहभागिताका साथै दलित मैत्री वातावरण बनाउन पहल गर्ने निर्णय गरेको छ । आसन्न पत्रकार महासंघको निर्वाचनमा महासंघले छुट्याएको दलित तथा समावेशी कोटामा महासंघमा आवद्ध दलित पत्रकारहरु प्रजातान्त्रीक तथा बामपन्थी नामका विभिन्न प्यानलहरुमा विभक्त नहुने गरी पत्रकार महासंघले यो संघको सिफारिसमा पठाइएका साझा आधिकारीक उम्मेदवारहरुलाई उठाउने सुनिश्चितताको लागि पहल गर्न समेत माग गरेको छ ।