मानव अधिकार तथा शान्ति समाज द्धारा बधाई सहित सम्मान

प्रकाशित मिति:

मानव अधिकार तथा शान्ति समाज रुपन्देहीले विभिन्न संघ–संस्थामा निर्वाचित व्यक्तिहरुलाई बुटवलमा बधाइ सहित सम्मान गरेको छ । समाजको केन्द्रीय सभापतिमा निर्वाचित गोविन्द खनाल, केन्द्रीय सचिव मिना ढकाल, केन्द्रीय सदस्य विष्णु भुसाललाई एक समारोहकाबीच सम्मान गरेको हो । त्यसै गरी राष्ट्रिय दलित पत्रकार संघ, नेपालका केन्द्रीय अध्यक्ष विनोद पहाडी, केन्द्रीय वरिष्ठ उपाध्यक्ष गोपाल बराईली, अर्का उपाध्यक्ष विनोद परियार, महासचिव लक्ष्मण दर्नाल, सचिव रीता बुढाथोकी, केन्द्रीय सदस्यहरु सञ्जय सौगात र राधेश्याम विश्वकर्मालाई सम्मान गरेको हो । त्यसै गरी समाजले बौद्ध दर्शन र संचारमा विद्यावारिधी गरेका वरिष्ठ पत्रकार अधिबक्ता बालकृष्ण चापागाईलाई पनि सम्मान गरेको हो । लुम्बिनी प्रदेशका सांसद रमा आर्याल, अर्का सांसद दीपा विश्वकर्मा र समाजका रुपन्देही अध्यक्ष डिपि खनालले टीका र माला लगाएर सम्मान गरेका हुन । उक्त अवसरमा कांग्रेस नेतृ तथा लुम्बिनी प्रदेशसभा सदस्य रमा अर्यालले समाजमा विभिन्न धार्मिक मूल्य र मान्यतालाई आधार बनाएर विभेद गर्ने गरिएको बताउँदै धर्मले भने कुनै पनि आधारमा विभेद नगरेको बताइन् । उनले विभेदलाई जरैदेखि उखेल्नुपर्ने बताइन् । माओवादी केन्द्रकी नेतृ तथा प्रदेश सांसद दीपा विश्वकर्माले तत्कालिन सशस्त्र द्वन्द्वकालमा भन्दा अहिले झन विभेदका घटना सार्वजनिक भएको बताइन् ।

उनले समाज रुपान्तरण हुन नसकेको भन्दै राज्यले पनि विभेद गरिरहेको बताइन् । शान्ति समाजका केन्द्रिय सभापति गोविन्द खनालले जातीय भेदभावकाविरुद्ध शान्ति समाजले काम गर्दै अघि बढेको बताए । उनले समाज रुपान्तरण गर्ने आफुहरुको अभियान रहेको भन्दै विभेदको अन्त्य जरुरी रहेको धारणा राखे । राष्ट्रिय दलित पत्रकार संघ, नेपालका अध्यक्ष विनोद पहाडीले शान्ति समाजले जातीय भेदभाव अन्त्य गर्नका लागि महत्वपूर्ण भूमिका खेलेको बताए । कार्यक्रममा वरिष्ठ पत्रकार डा। बालकृष्ण चापागाई, समाजका केन्द्रिय सचिव मिना ढकाल, कांग्रेस नेता तथा विश्व हिन्दु महासंघका केन्द्रीय सदस्य हरि बहादुर आचार्य क्षेत्री, नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष निरु गौतम, नेपाल प्रेस यूनियन रुपन्देहीका सभापति रेखा भुसाल, राष्ट्रिय दलित पत्रकार संघ नेपालका महासचिव लक्ष्मण दर्नाल, सचिव रीता बुढाथोकी, रिर्पोटस क्लब लुम्बिनीका प्रमुख रामकुमार क्षेत्री लगायतले बोलेका थिए । कार्यक्रम शान्ति समाज रुपन्देहीका सभापति डीपी खनालको अध्यक्षता, उपसभापति कृष्ण भट्टराईको स्वागत तथा सचिव कपिल ज्ञवालीको सञ्चालनमा भएको थियो । सोही अवसरमा विश्व हिन्दु महासंघका केन्द्रीय सदस्य हरि बहादुर आचार्य क्षेत्रीले राष्ट्रिय दलित पत्रकार संघको प्रदेश कार्यालय स्थापनाका लागि आफ्नो घरमा एक वर्षका लागि निःशुल्क दिने प्रतिवद्धता समेत जनाएका थिए ।