बुटवलमा क्यालिस्थेनिक्स प्रतियोगिता सम्पन्न

प्रकाशित मिति:

पहिलोपटक बुटवलमा क्यालिस्थेनिक्स खेल प्रतियोगिता सम्पन्न भएको छ । जिल्ला खेलकुद विकास समितिको प्राङ्गणमा निर्मित क्यालिस्थेनिक्स पार्क (खुल्ला व्यायामशाला) मा भएको प्रतियोगितामा रुपन्देहीका १७ युवती र २२ युवा खेलाडीले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा पुरुषतर्फ सागर खत्री प्रथम, सन्दीप बुढाथोकी दोस्रो र सुदन केसी तेस्रो भएका छन् । यस्तै महिलातर्फ डिना पुन प्रथम, मनिषा विके दोस्रो र मन्जिता राजभण्डारी तेस्रो भएका छन् । खेलमा प्रतिस्पर्धीले पुल अप, पुस अप, बक्स जम्प, प्यारालल डिप्स, बर्पी, टायर फ्लीक्स र फार्मर्स क्यारी जस्ता खेल कौशल प्रदर्शन गरेका थिए । विजयी खेलाडीलाई नेपाल युथ फिटनेस एण्ड क्यालिस्थेनिक्सका संस्थापक शुकदेव कार्की, आयोजक बुटवल क्यालिस्थेनिक्सका अध्यक्ष पुकार थापा, प्रतियोगिता व्यवस्थापक एडभेन्ट नेपालका सुमन श्रेष्ठले नगद पुरस्कार तथा प्रमाणपत्र वितरण गरे । संस्थापक कार्कीले नेपालमा यो खेल भित्रिएको ५ वर्ष मात्रै भएको जानकारी दिए । उनका अनुसार हाल काठमाडौं, नारायणगढ, वीरगञ्ज, नेपालगञ्ज र बुटवल गरी पांच शहरमा क्यालिस्थेनिक्स पार्क स्थापना भएका छन् । देशभर यस खेलका करिब १५ सय खेलाडी रहेको उनले बताए । यो खेललाई राष्ट्रिय खेलकुद परिषदमा समावेश गराउने पहल भइरहेको उनले बताए ।