गल्याङका वडामा मेलमिलाप समिति गठन गर्ने क्रम जारी

प्रकाशित मिति:

११ वटै वडामा मेलमिलाप समिति गठन गरी वडाका उजुरी समाधानको प्रयास हुने

गल्याङ । स्याङ्जाको गल्याङ नगरपालिकाका सबै वडाहरुमा मेलमिलाप समिति गठनको क्रमलाई तिब्रता दिइएको छ । गल्याङ नगरपालिका न्यायिक समितिको आयोजनामा मेलमिलाप समिति गठनको क्रमलाई तिब्रता दिइएको हो । केही दिन अघि नगरपालिकाको वडा नम्बर सातमा मेलमिलाप समिति गठन गरिएकोमा सोमबार वडा नम्बर आठ र ११ मा पनि मेलमिलाप समिति गठन गरिएको छ । नगरपालिका न्यायिक समितिका सदस्य गोपाल भण्डारीले सबै वडामा मेलमिलाप समिति गठन गर्ने क्रममा सोमबार दुई वटा वडामा पनि गठन गरिएको जानकारी दिनुभयो । उहाँले नगरपालिकामा मुद्वाको चाप धेरै भएपछि वडामा पनि मेलमिलाप समिति गठन गरिएको स्पष्ट पार्नुभयो ।

सदस्य भण्डारीले वडामा समाधान हुने मुद्वा वडाबाट नै टुङ्गो लगाउनका लागि वडामा गठन गरिएका मेलमिलाप समितिले काम गर्ने जानकारी दिनुभयो ।  उहाँले भन्नुभयो –‘वडाका समस्या सकेसम्म वडामा नै समाधान होउन् भन्नका लागि हामीले यो प्रक्रियामा गएका छौं । ११ वटै वडामा मेलमिलाप समिति गठन हुनेछ ।’ अहिले नगरपालिकाको न्यायिक समितिमा मासिक सरदर २० वटा उजुरी आउने गरेको जानकारी दिदै ती मध्ये आधा जसो उजुरी हल भएको उहाँले बताउनुभयो । आएका उजुरी मिलाउन सकेसम्म समितिबाट प्रयास हुने गरेको भन्दै उहाँले समाधान हुनै नसकेका उजुरी अदालतको प्रक्रियामा जाने बताउनुभयो । गल्याङ नगरपालिकामा नगर उपप्रमुख देविसरा थापाको संयोजकत्वमा तीन सदस्यीय न्यायिक समिति गठन भई नगरपालिका भित्रबाट आउने उजुरीहरुको छानविन गरिरहेको छ ।