केन्द्रीय बैंकले ८ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्ने

प्रकाशित मिति:

काठमाडौं : नेपाल राष्ट्र बैंकले ८ अर्ब १० रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । राष्ट्र बैंकले २८ दिन, ९१ दिन र १८२ दिनको लागि ट्रेजरी बिल जारी गर्न लागेको हो । मंगलबार चैत १७ गते जारी हुने यस ट्रेजरी बिलका लागि भोली सोमबार दिउँसो ३ बजे बोलकबोल हुनेछ । केन्द्रीय बैंकले २८ दिनको लागि ५ अर्ब रुपैयाँको ट्रेजरी जारी गर्न लागेको हो ।

यो ट्रेजरी २०७८ बैशाख १४ गते परिपक्व हुनेछ । बैंकले ९१ दिनको लागि १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको छ । यो ट्रेजरी २०७८ असार १५ गते परिपक्व हुनेछ । त्यस्तै, १८२ दिनको लागि ३ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको हो । यो ट्रेजरी २०७८ असोज १२ गते परिपक्व हुनेछ ।

ट्रेजरी बिल १ वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको (बढीमा एक वर्ष) स्रोत जुटाउन यो बिल बिक्री गरिन्छ । भुक्तानी मिति अगावै ट्रेजरी बिलको प्रमाणपत्र खरिद गर्न, वैधानिक तरलता अनुपात, स्थायी तरलता सुविधा तथा अन्तर बैंक कारोबारमा प्रयोग गर्न सकिने व्यवस्था छ ।

व्यक्तिको हकमा ट्रेजरी बिलको प्रमाणपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन पनि पाइनेछ । सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक समेत ट्रेजरी बिलको बोलकबोलमा सहभागी हुन सक्नेछन् । बोलकबोलमा सबैभन्दा बढी मूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँट हुने गर्दछ ।