बडिगाड घटनाको निष्पक्ष छानबिन गर्न कांग्रेसको माग

प्रकाशित मिति:

बागलुङ, चैत १६ : बागलुङको बडिगाड गाउँपालिकामा दुईको मृत्यु हुने गरी भएको झडपको निष्पक्ष छानबिन गर्न नेपाली कांग्रेस बागलुङले माग गरेको छ। बागलुङ जिल्लाको बडिगाड गाउँपालिका र निसीखोला गाउँपालिकाको सिमाना बल्देधुरीमा झडप हुँदा दुई जनाको मृत्यु भएको छ भने केही युवा सम्पर्कबाहिर रहेको घटनाप्रति कांग्रेसले ध्यानार्कषण भएको जनाएको छ।

कांग्रेसले सोमबार एक विज्ञप्ति जारी गर्दै घटनामा संलग्नलाई कारबाही गर्न र घाइतेको उपचार गर्न सरकारसँग आग्रह गरेको छ । झडपपछि भिरबाट खसाल्दा निसीखोला-७ का अन्दाजी ३७ वर्षीय प्रकाश कुँवर र २९ दीपक दमाईको मृत्यु भएको छ । मृत्यु भएका कुँवर कांग्रेस जिल्ला सदस्य र दमाई सक्रिय कार्यकर्ता हुन्। जिल्ला सभापति दिपेन्द्रबहादुर थापाद्वारा हस्ताक्षरित विज्ञप्तिमा कांग्रेस जिल्ला सदस्य कुँवर र सक्रिय कार्यकर्ता दमाईमाथि सुनियोजित रुपमा साङ्घातिक हमाल गरी योजनाबद्ध रुपमा हत्या गरिएको भन्दै पार्टीको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ।

घटनाको विषयमा विभिन्न समाजिक सञ्जाल तथा सञ्चारमाध्यममा आएको भिडियो र तस्बिरले प्रमाण दिएको र सुनियोजित रुपमा अपराधिक मानसिकताबाट प्रेरित भई हत्या गरेको विज्ञप्तीमा उल्लेख छ।