बंगलादेशलाई पराजित गर्दै थ्रिनेसन्स कप फुटबलको उपाधि नेपाललाई

प्रकाशित मिति:

काठमाडौं, चैत १६ : नेपालले बंगलादेशलाई पराजित गर्दै थ्रि नेसन्स कप फुटबलको उपाधि जितेको छ। शनिबार दशरथ रंगशालामा भएको फाइनल खेलमा बंगलादेशलाई २-१ ले पराजित गर्दै उपाधि जितेको हो। नेपालका लागि १८औं मिनेटमा सञ्जोग राई र ४२औं मिनेटमा विशाल राईले गोल गरेका हुन्।

बंगलादेशले ८३औं मिनेटमा गोल फर्काएको थियो। प्रतियोगितामा नेपाल, बंगलादेश र किर्गिस्तानको २३ वर्षमूनिका टिम सहभागी थिए।नेपाली राष्ट्रिय टिमले जितेको यो पाँचौं अन्तर्राष्ट्रिय उपाधि हो। यसअघि नेपालले सन् १९८४ र १९९३ मा साग गेममा स्वर्ण जितेको थियो भने सन् २०१६मै बंगबन्धु गोल्डकप र एएफसी सोलिडारिडी कप उपाधि जितेको थियो ।नेपाल खेलको शुरुआतदेखि नै हाबी भएको थियो। सन्जोग राईले १८औं मिनेटमा गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए। उनको यो राष्ट्रिय टिममा पहिलो गोल हो।

यस्तै खेलको ४२औं मिनेटमा विशाल राईले वान भर्सेस वानमा गोल गर्दै नेपालको अग्रता दोब्बर पारेका थिए। रञ्जित धिमालको पासका संजोग राईले वान टचमा उपलब्ध गराएको बलमा विशालले उत्कृष्ट गोल गरेका हुन्। विशालले नेपालका लागि गरेको यो चौथो गोल हो।उपाधिसँगै नेपालले ५ हजार अमेरिकी डलर पुरस्कार पाएको छ। उपविजेता बंगलादेशले ३ हजार डलर पुरस्कार पाएको छ।प्लेयर अफ दी फाइनल स‌ंजोग राई घोषित भए भने रोहित चन्द प्रतियागिताकै उत्कृष्ट खेलाडी बने।