महासंघको सदस्यता हटाएकोमा यूनियनद्धारा ध्यानाकर्षण

प्रकाशित मिति:

भवानी अधिकारी-स्याङजा, नेपाल पत्रकार महासंघको आसन्न २६ औं महाधिवेशन नजिकिदै गर्दा अस्वस्थ्य प्रतिस्पर्धामा उत्रेर क्रियाशिल पत्रकारको मनोवल गिराउने काम गरेको भन्दै नेपाल प्रेस यूनियन स्याङजा शाखाले प्रेस विज्ञप्ति मार्फत सरोकारवालाको ध्यानाकर्षण गराएको छ ।

जिल्लामा निरन्तर क्रियाशिल पत्रकार साथीहरुको बिरुद्धमा उत्रेर आफनै सहकर्मी माथिको प्रहार गर्नु अति नै अशोभनीय कार्य हो । स्थानीय तथा राष्ट्रिय संचार माध्यममा आवद्ध साथीहरुका मनोबल गिराउनेगरी ब्यावसायिक पत्रकारितावाट बिचलित गराउने दुराशयपूर्ण तरिका अवलम्बनगरि आफना पक्षमा नतिजा हात पार्न खोज्ने कुत्सीत मनसायबाट प्रेरित भई गरिएको नियोजित हर्कतले नेपाल प्रेस यूयिनन स्याङ्जा शाखा स्तब्ध भएको उल्लेख छ ।

यूनियनका अध्यक्ष प्रदीप कोइरालाद्धारा हस्ताक्षरित विज्ञप्तिमा नेपाल पत्रकार महासंघ स्याङजा शाखाका निवर्तमान अध्यक्ष प्रकाश डोटेल सहित अन्य ३ जना सदस्यहरु बिष्णुप्रसाद अधिकारी, रामप्रसाद लामिछाने र प्रेमनारायण रेग्मीको नाम अन्तिम मतदाता नामावली प्रकाशन गर्दा हटाइएको भन्दै गम्भीर आपत्ती जनाइएको छ।बिधिपूर्वक सदस्यता प्राप्त स्याङजा शाखाका ४ जना सदस्यहरुको केन्द्रीय निर्वाचन समितिले पहिलो पटक निर्वाचन कार्यतालिका अनुसार मतदाता नामावली प्रकाशन गर्दा कायम भएको मतदाताको नाम आस्थाका आधारमा अन्तिम मतदाता नामावली प्रकाश गर्दा हटाइएको हुदाँ यथाशीघ्र मतदाता नामावलीमा उनीहरुका नाम समावेश गरियो भन्दै बिज्ञप्ति मार्फत आग्रह गरिएको छ ।

अन्यथा, निर्वाचत कार्यतालिका प्रभावित हुनेगरी यूनियन कानूनी उपचारका लागि बैकल्पिक बाटो अख्तियार गर्न वाध्य हुने भन्दै सम्बन्धित निकायप्रति ध्यानाकर्षण गरिएको छ ।राज्यको चौथौं अंगका रुपमा मानिएको पत्रकारिता जगतलाई नकारात्मक प्रभाव पार्नेगरी स्वयं पत्रकारहरु नै खुलेर लाग्नु दुखद घटना भएको अध्यक्ष कोइरालाले प्रतिक्रिया दिनुभयो ।
बिज्ञप्ति