पत्रकार शर्मालाई उत्कृष्ट सहकारी पत्रकारिता पुरस्कार

प्रकाशित मिति:

तिलोत्तमा, २० चैत । उत्कृष्ट सहकारी पत्रकारिता पुरस्कार–२०७६बाट पत्रकार टिआर शर्मा पुरस्कृत भएका छन् । ६४ औ राष्ट्रिय सहकारी दिवसको अवसर पारेर लुम्बिनी प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री आरती पौडेल र जिल्ला सहकारी संघ रुपन्देहीका अध्यक्ष भीम तुलाचनले संयुक्तरुपमा पत्रकार शर्मालाई पुरस्कृत गरेका हुन् । नेपाल पत्रकार महासंघ रुपन्देहीको सहकार्यमा जिल्ला वचत तथा ऋण सहकारी संघले उक्त पुरस्कार स्थापना गरेको हो । पुरस्कारको राशी नगद रु १० हजार रहेको छ । शर्मा गौतमबुद्ध सन्देश दैनिक र अनलाइनखवरमा आवद्ध छन् । रुपन्देहीमा रहेर डेढ दशकदेखि पत्रकारितामा क्रियाशिल रहेका शर्मा तिलोत्तमा मिडिया क्लवका सचिव समेत हुन् ।

त्यस अवसरमा बोल्दै मन्त्री पौडेलले सहकारीहरु आफ्नो प्रकृति, मर्म र भावना अनुसार सञ्चालन हुनुपर्नेमा जोड दिंदै केही सहकारी संस्थाहरुको बदमासीले गर्दा सिंगो सहकारी क्षेत्रमाथि नै प्रश्न उठ्ने गरेको बताइन् ।उनले नवीनतम, उद्यमशील र रोजगारमूलक काम गर्ने सहकारीहरुलाई मन्त्रालयले अनुदानको समेत व्यवस्था गरेको जानकारी दिइन् । राष्टिय सहकारी महासंघका सञ्चालक रामकृष्ण खाणले गरिबी न्युनीकरण र रोजगारी सिर्जनामा सहकारीको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै सहकारी क्षेत्रले पुँजी परिचालनमा पनि ठूलो योगदान गरेको बताए ।बचत तथा क्रृण सहकारी संघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण नेपालले सहकारीका सञ्चालकहरु नीति, विधि र प्रविधिमा अझैपनि कमजोर रहेको र सहकारी शिक्षामा पनि पछाडि रहेको उल्लेख गर्दै पुँजीको विकास भएपनि उत्पादनशील क्षेत्रमा लगानी हुन नसकेको बताए ।

कार्यक्रममा राष्टिय सहकारी बैंकका सञ्चालक माधव देवकोटा, तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरे, देवदह नगरपालिकाका प्रमुख हिरा केसी, नेफ्स्कुनका सञ्चालक सन्दिप सापकोटा, लुमिबनी विशिष्टिकृत सहकारी संघका अध्यक्ष डा. खगराज शर्मालगायतले गरिवी निवारणमा संविधानले नै तीनखम्बे अर्थनीतिको व्यवस्था गरेकोले सोही अनुसार अगाडि बढ्न सरकारको ध्यानाकर्षण गराएका थिए ।कार्यक्रममा कोरोना संकटको बेला किसानको तरकारी बिक्री लगायत कोरोना प्रभावितलाई स्वास्थय सामग्री सहयोग गरेका सहकारी संस्थाहरुलाई सम्मान गरिएको थियो । त्यस्तै जिल्ला सहकारी संघले आयोजना गरेका हाजिरीजवाफ र निवन्ध प्रतियोगिताका विजेतालाई पनि पुरस्कृत गरिएको थियो ।कार्यक्रममा संघका अध्यक्ष भीम तुलाचन, सचिव टिका न्यौपाने, जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष प्रकाश भट्टराई, केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका हरि काफ्ले, जिल्ला दुग्ध उत्पादक सहकारी संघका लेखनाथ पाण्डे लगायतले पनि बोलेका थिए ।