प्रदेशस्तरीय यु–१६ क्रिकेट, दाङ र बाँके विजयी

प्रकाशित मिति:

प्रकाश न्यौपाने,भैरहवा, चैत्र २३- भैरहवामा जारी बलियो नेपाल टी–२० अन्डर–१६ लुम्बिनी प्रदेशस्तरीय क्रिकेट प्रतियोगितामा सोमबारको खेलमा दाङ र बाँके विजयी भएका छन् । दाङले बर्दियालाई ६ विकेट र बाँकेले पाल्पालाई ४ विकेटले पराजित गर्दै जित निकालेका हुन् ।

सिद्धार्थ रंगशालामा टस हारेर व्याटिङको निम्तो पाएकोे बर्दियाले १९ ओभर २ बलमा सबै विकेट गुमाउँदै ९८ रन बनायो । उसका लागि शौरभ चौधरीले २७ र नितेश कुमार यादवले १३ रन बनाए । बलिङमा दाङका आयुष ओली, सुजल ओली, प्रिन्स ओली र सुमन बाँसौडीले समान २÷२ विकेट लिए । जवाफी ब्याटिङमा आएको दाङले १८ ओभरमा ४ विकेटको क्षतिमा १०२ रन बनाउँदै जित निकाल्यो । उसको जितमा आषिश ओलीले २९ र मनोज पुनमगरले २२ रन जोडे । बलिङमा बर्दियाका बिशाल चन्द, रोहित सुनार, गहेन्द्र सिंह गजमेर, नितिन न्यौपानेले समान १÷१ विकेट लिए । आषिश ओली म्यान अफ द म्याच भए ।

अर्को खेलमा टस हारेर ब्याटिङ गरेको पाल्पाले ८ विकेटको क्षतिमा १२२ रनको योगफल बनायो । जसमा रुपक सापकोटाले २४, सौगात गौतमले २१, सुदीप जिसीले १९ र आलिक सुनारले १६ रन बनाए । बलिङमा बाँकेका निशान्त आचार्यले ३ र अस्मित शाहीले २ विकेट लिए । प्रतिउत्तरमा बाँकेले १९ ओभर ३ बलमा ६ विकेटको क्षतिमा १२४ रन बनाउँदै लक्ष्य पूरा गर्यो । उसको जितमा अनिरुद्र कुँवरले ४१, अस्मित शाहीले १५ र क्षितिज थापाले १३ रन जोडे । बलिङमा पाल्पाका सुभम भुसाल र विपिन भट्टराईले समान २÷२ विकेट लिए । अनिरुद्र कुँवर म्यान अफ द म्याच भए । प्रतियोगितामा लुम्बिनी प्रदेशका १२ टिम सहभागी छन् ।