हरियालीले नमूना : तिलोत्तमाको ६ लेन सडक

प्रकाशित मिति:

टोपराज शर्मा- २४ चैत, बुटवल । सडकको दायाँ बायाँ एकनासका मझौला रुखको हरियाली, बीच डिभाइडरमा ढकमक्क फुलेको बेगनबेली फूलको सौन्दर्य । बुटवलको राजमार्ग चौराहा हुँदै दक्षिणतर्फ भैरहवा र लुम्बिनी जाने जो कोहीले हरियालीयुक्त सडकका कारण छुट्टै आनन्द र फरकपन अनुभूति गर्न सक्छन् । योगीकुटी पार गरेपछि तिलोत्तमा नगरपालिकामा प्रवेश गरेसंगै सडकको दायाँ र बायाँ दुबैतर्फ ६ मिटरको दूरीमा स्टोनिया जातका बिरुवाको हरियाली छाएको छ भने मुख्य डिभाइडरमा तिलोत्तमा नगरपालिकाले नगरको फूल घोषणा गरेको बेगनबेली राताम्य फुलेको छ ।
बुटवल–बेलहिया ब्यापारिक मार्ग आयोजनाले सडकलाई हरियालीयुक्त बनाउन सडकका डिभाइडरमा स्टोनियाका बिरुवा लगाएको हो । तर बिरुवा हुर्काउने र संरक्षण गर्ने दायित्व भने नगरपालिका र स्थानीय बासिन्दाको छ । ६ लेन सडकको योगीकुटीदेखि नयाँ मिलसम्म ४ किलोमिटरमा सडकको दुबैतिर गरी करिब ४ हजार स्टोनियाका बिरुवा हुर्किसकेका छन् र मुख्य डिभाइडरमा करिब ५ हजार बेगनबेली फूल रोपिएको छ ।सडक किनारका टोल विकास संस्था र कतिपय व्यापारिक संस्थाबीच रोपिएका बिरुवा संरक्षणमा प्रतिस्पर्धा नै छ । लायन्स क्लब तिलोत्तमा बुद्धज्योतिले २० लाख रुपैयाँ खर्च गरेर तिलोत्तमा प्रवेशद्वार योगीकुटीमा लायन्स स्मार्ट पार्क नै बनाएको छ ।

विरुवा रोपिएको क्षेत्रलाई खण्ड खण्ड छुट्याएर टोल विकास संस्थाहरुले तार जाली लगाएर संरक्षण गरेका छन् । बिरुवामा सिञ्चाईका लागि ठाउँठाउँमा प्लाष्टिकका ठूला ड्रम (ट्याङ्की) मा पानी भरेर स्थायी रुपमा डिभाइडरमै राखिएको छ ।‘तीन वर्षमै ६ लेन सडकमध्ये चार किलोमिटरमा यति उत्कृष्ट हरियाली र सुन्दर सडक नेपालमा अरु ठाउँ छैन’– तिलोत्तमा नगरपालिकाका वातावरण शाखा प्रमुख गिरिराज डुम्रे भन्छन्– ‘नगरपालिका र स्थानीय टोल विकास संस्थाको साथले यहांको वातावरण हरियाली र सौन्दर्य साँच्चिकै अनुकरणीय बनेको छ ।’सडक निर्माण सम्पन्न भएपछि बेलहियासम्म नै वृक्षारोपण गर्ने योजना छ । स्टोनिया जातको रुख पानी कम भए पनि हुर्कने, छिटो बढ्ने, पात नझर्ने, धुलो सहन गर्न सक्ने, पशु चौपायाले नखाने र अत्यधिक अक्सिजन उत्सर्जन गर्ने आयुर्वेदिक औषधियुक्त बिरुवा मानिन्छ ।

तिलोत्तमामा पर्ने ११ किलोमिटर सडकलाई पनि यस्तै हरियालीयुक्त बनाउने गरी योजना अघि बढाइएको नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्रीले बताए । बृक्षारोपणमार्फत वातावरण संरक्षण गर्न सबैलाई उत्प्रेरित गर्ने नगरपालिकाको उद्देश्य रहेको प्रवक्ता श्रीले बताए । ‘ग्रीन तिलोत्तमा ः क्लिन तिलोत्तमा नारालाई सार्थक बनाउन सिक्स लेन सडकको हरियाली सबैका लागि नमूना भएको छ– उनले भने– ‘तिलोत्तमाको ६ लेन सडकको हरियाली देख्ने जो कोहीलाई वातावरण संरक्षणमा लाग्न प्रेरित गर्छ ।’

५० हजार वृक्षारोपण गरिंदै- तिलोत्तमा नगरपालिकाले नगरलाई हरियालीयुक्त बनाउन र वातावरण संरक्षणका लागि ५० हजार विरुवा रोप्ने योजना बनाएको छ । नगरका सामुदायिक र नीजि विद्यालय, सामुदायिक वन, बुद्ध परिक्रमा सडक र खुला ठाउँ र पार्कहरुमा ५० हजार बिरुवा रोप्ने लक्ष्य रहेको नगरपालिकाका वातावरण शाखा प्रमुख गिरिराज डुम्रेले बताए । आँप, अम्बा, अनार, कागती, लिची, कटहर, अमला, जामुन, सुपारी, टिक, बकाइनो, खयर, बेगनबेली फूललगायत विभिन्न प्रजातिका विरुवाहरु रोपिने डुम्रेले बताए ।