दैनिक पत्र द्वारा पत्रकार महासंघको नवनिर्वाचित नेतृत्वलाई सम्मान

प्रकाशित मिति:

बुटवल,२९ चैत । बुटवल मिडिया प्रकाशन प्रा.लि. द्वारा प्रकाशित दैनिक पत्र राष्ट्रिय दैनिकले नेपाल पत्रकार महासंघको नवनिर्वाचित नेतृत्वलाई बधाई दिदैं सम्मान गरेको छ । आइतबार एक कार्यक्रमको आयोजना गरी लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री सुर्दशन बरालको प्रमुख आतिथ्यतामा महासंघ लुम्बिनी प्रदेश, कपिलवस्तु र रुपन्देहीलगायतका नवनिर्वाचित केन्द्रीय, प्रदेश र जिल्लाका पदाधिकारी तथा कार्यसमिति सदस्यहरुलाई बधाई तथा सम्मान गरिएको हो ।
कार्यक्रममा बोल्दै मन्त्री सुर्दशन बरालले पत्रकारहरूले राजनैतिक दलहरूलाई पाठ सिकाउनु पर्ने बताएका छन् । निर्वाचनको परिणाम आएसंगै प्रतिस्पर्धा सकिएकाले सहकार्य गरेर मिडिया हाउस र श्रमजीवी पत्रकारहरुको पक्षमा काम गर्न मन्त्री बरालले सुझाव दिए । उनले पत्रकारहरू आवाज विहीनहरुको आवाज बन्नु पर्ने भन्दै सकारात्मक चुनौती स्वीकार गर्नु पर्ने बताएका थिए ।

कार्यक्रममा बोल्दै संविधान सभा सदस्य नेत्रप्रसाद पन्थीले नवनिर्वाचित टिमलाई बधाई दिदैं अग्रज र अनुजले अनुभवको आदानप्रदानले समाजलाई अग्रगमनको पक्षमा लैजाने काम गर्न आग्रह गरेका छन् ।त्यस्तै संविधान सभा सदस्य तथा राष्ट्रिय दलित पत्रकार संघका केन्द्रीय अध्यक्ष विनोद पहाडीले राजनीतिलाई अलग राखेर पत्रकारिता सम्भव नहुने भन्दै मिसन विनाको पत्रकारिता नहुने र अब पत्रकाहरूले सामाजिक रूपान्तरणको मिसनमा काम गर्नु पर्नेमा जोड दिए ।
नेपाल पत्रकार महासंघका पूर्व उपसभापति वरिष्ठ पत्रकार कर्ण बहादुर कार्कीले परिवर्तित सन्दर्भ अनुसार पत्रकारितालाई मिसनसंग जोडेर सेवामुलक बनाउनु पर्ने बताए ।नेपाल प्रेस युनियनका पूर्व केन्द्रीय उपसभापति हरि लम्सालले पत्रकारहरुको नवर्विाचित नेतृत्वले साझा हितलाई ध्यानमा राखी लोकतन्त्र र सामाजिक न्यायको पक्षमा कलम चलाउनु पर्नेमा जोड दिए ।
नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य नारायण सापकोटाले पत्रकारिता समाजको अभिन्न अंग र परिर्वतनको सम्वाहक भएको बताए ।

नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका नवनिर्वाचित अध्यक्ष वसन्त गिरीले चुनावी प्रतिस्पर्धामा हार र जीत हुनु स्वभाविक भन्दै सबै पक्षलाई समेटेर अघि बढ्ने बताए । नेकपा एमाले रूपन्देहीका अध्यक्ष राजु गुरूङले पत्रकारिताले समाज रुपान्तरणमा महत्वपूर्ण योगदान दिदैं आएको बताउदै सदैव सत्य र न्यायको पक्षमा वकालत गर्नु पर्नेमा जोड दिए ।
नेपाल पत्रकार महासंघ रूपन्देहीका नवनिर्वाचित अध्यक्ष रामराज पोख्रेलले साझा हित र सहमतिलाई आधार मानी अघि बढ्ने बताए ।पत्रकार महासंघ कपिलवस्तुका नवनिर्वाचित अध्यक्ष किरणमान बजा्रचार्यले कपिलवस्तु बुद्धसंग सम्बन्धित विषयवस्तुको खुला संग्रहालय भएको बताउदैं पत्रकारिताले थप खोजी गरी प्रचारप्रसार गर्ने बताए ।कार्यक्रममा नवनिर्वाचित रूपन्देही उपाध्यक्ष अमृता अनमोलले सहमति र सहकार्यबाट महासंघलाई अगाडि बढाउन आफ्नो प्रयास रहने बताईन् ।
लुम्बिनी प्रेस क्लबका अध्यक्ष नरेश केसीले पत्रकारहरुका लागि लुम्बिनी प्रदेश उर्वर भूमि भएको बताए ।

दैनिक पत्र राष्ट्रिय दैनिकका कार्यकारी प्रमुख तथा प्रधान सम्पादक डा.बालकृष्ण चापागाइको अध्यक्षतामा भएको सो बधाई तथा सम्मान कार्यक्रममा संस्थाका व्यवस्थापक मञ्जु पौडेलद्वारा स्वागत मन्तव्य र प्रवन्ध संम्पादक रामप्रसाद आचार्यले कार्यक्रम सञ्चालन गरेका थिए ।