प्युठान जिप दुर्घटना :` मृतकको संख्या ५ पुग्यो ´ !

प्रकाशित मिति:

बुटवल – प्यूठानको स्वर्गद्वारी नगरपालिका–२ रुमालेमा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । जिल्ला प्रशासन कार्यालय गुल्मीमा कार्यरत कर्मचारी लिएर प्यूठानको स्वर्गद्वारी गएको लु १ ज १६५५ नम्बरको जिप दुर्घटनामा परेको हो ।

बुधबार दिउँसो भएको दुर्घटनामा जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत स्याङ्जाका ३८ वर्षका श्याम न्यौपाने, कम्प्युटर अपरेटर रेसुङ्गा नगरपालिका ७ का सूर्यप्रसाद पन्थी, खरिदार धुर्कोट गाउँपालिका ७ का ईश्वरी भण्डारी, खरिदार मालिका गाउँपालिका ७ का यमलाल पन्थी, मुसिकोट नगरपालिका–३ का २२ वर्षका सवारी चालक केशव कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

चालक र प्रशासकीय अधिकृतको उपचारको क्रममा प्राथमिक स्वास्थ्य केन्द्र भिंगृमा र अन्य तीन जनाको घटनास्थलमै ज्यान गएको इलाका प्रहरी कार्यालय भिंगृका प्रहरी नायव निरीक्षक (सई) बुद्धिप्रसाद रानाले जानकारी दिए ।

दुर्घटनामा ११ जना घाइते भएका छन् । १२ वर्षीय सार्थक ज्ञवाली र जिल्ला प्रशासन कार्यालय गुल्मीमा कार्यरत खरिदार प्युठानको माण्डवी गाउँपालिका–३ का ३७ वर्षीय सञ्जिव परियार गम्भीर घाइते भएका छन ।

गुल्मीको रेसुङ्गा नगरपालिका–४ की २३ वर्षीय सुुनिता कँडेल, २९ वर्षीय वसन्ती पौडेल, उनकी ४ वर्षीय छोरी निकिता पौडेल, ३० वर्षीय गीता बोहोरा मुखियाँ, उनका १० वर्षीय छोरा अनिस मुखियाँ, चन्द्रकोट गाउँपालिका–८ की २४ वर्षीय तारा भण्डारी, उनका ६ वर्षीय छोरा आशिष भण्डारी, मुसिकोट नगरपालिका–६ का ३३ वर्षीय दिलबहादुर थापा र २७ वर्षीय कमला ज्ञवाली घाइते भएका छन् ।

घाइतेलाई प्राथमिक स्वास्थ्य केन्द्र भिगृमा लगिएको जिल्ला प्रहरी कार्यालय प्युठानले जानकारी दिएको छ । रानाका अनुसार बसलाई ओभरटेक गर्न खोज्दा जीप सडकदेखि करिब १५० मिटर तल भिरमा खसेको थियो ।