गण्डकीका मुख्यमन्त्री गुरुङको पद धरापमा

प्रकाशित मिति:

पोखरा, वैशाख १ : राष्‍ट्रिय जनमोर्चाले समर्थन फिर्ता लिएपछि गण्डकीका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको पद धरापमा परेको छ। प्रदेशसभामा कांग्रेस संसदीय दलका नेता कृष्‍णचन्द्र नेपाली सम्भावित मुख्यमन्त्री देखिएका छन्। गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङविरुद्ध अविस्वास प्रस्ताव दर्ता गर्ने तयारी भएको छ। राष्ट्रिय जनमोर्चाले (राजमो)ले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेपछि विपक्षी दलले अविश्वास प्रस्ताव दता गर्ने तयारी गरेका हुन्।

नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा) मिलेर बिहीबार मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने तयारी भएको कांग्रेस सांसद कुमार खड्काले बताए। उनी माओवादी, राजपा र राजमोसँर्ग वार्ता गर्न गठित टोलीका सदस्य पनि हुन्। भोलि अविश्वास प्रस्ताव दर्ता गर्ने गरी छलफल अघि बढाएको उनले बताए। ६० सदस्यीय गण्डकी प्रदेशसभामा नेकपा (एमाले)का २७, कांग्रेसका १५, माओवादीका १२, राजमो ३ र जसपाका २ सांसद छन्। एक जना स्वतन्त्र सांसद राजीप गुरुङ (दीपक मनाङे) छन्।

सरकार गठनका लागि ३१ सांसद चाहिन्छ। कांग्रेस, माओवादी, राजपा र जसपा मिलेर ३२ सांसद हुन्छन्। राजमोले समर्थन फिर्ता लिएसँगै सरकार अल्पमतमा परेको छ। विपक्षी दलले ल्याउने अविश्वास प्रस्तावलाई राजमो अध्यक्ष चित्रबहादुर केसीले समर्थन जनाउँदै बताएपछि सरकार ढल्ने निश्चित भएको हो। अध्यक्ष केसीको विज्ञप्ति आएसँगै कांग्रेस, माओवादी र जसपाले अविश्वास प्रस्ताव ल्याउने तयारी गरेका हुन्।बिहीबार अविश्वास प्रस्ताव ल्याउने तयारी गरिएपछि कांग्रेस, माओवादी र जसपाले आफ्ना सांसदहरुलाई प्रदेश राजधानी पोखरा बोलाएका छन्।

अविश्वास प्रस्ताव ल्याउन एक तिहाइ सांसदको हस्ताक्षर चाहिन्छ। अहिले १५ सांसदको हस्ताक्षरले पुग्ने भए पनि सबैको सांसदलाई बोलाइएको छ।अविश्वास प्रस्ताव दर्ता गर्दा मुख्यमन्त्रीका रुपमा कांग्रेस संसदीय दलका नेतालाई प्रस्ताव गरिने भएको छ। कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली छन्। बिहीबार अविश्वास प्रस्ताव दर्ता गर्नुअघि सर्वदलीय बैठक बस्ने भएको छ। सर्वोच्च अदालतको आदेशपछि एमाले र माओवादी ब्युतिएसँगै माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो। तर, राजमोले समर्थन जारी राखेका कारण मुख्यमन्त्री गुरुङ बहुमतमा थिए।@kathamandupress