बस्तु-कोरिया सम्पर्क समितीद्वारा परमानन्द बहुमुखी क्याम्पसमा कम्प्युटर हस्तान्तरण

प्रकाशित मिति:

नारायण पाण्डे / गुल्मी – धुर्कोट परमानन्द भण्डारी बहुमुखी क्याम्पस धुर्कोट ५, बस्तु गुल्मीको लागि बस्तु-कोरिया सम्पर्क समितिद्वारा एक कार्यक्रमको आयोजना गरी दुई थान कम्प्युटर हस्तान्तरण गरेको छ। उक्त समितिका प्रतिनिधिहरु बाबुराम भण्डारी र प्रदिप पाण्डेले समितिको तर्फदेखि कम्प्युटर प्रदान गर्नुभएको थियो । धुर्कोट गाउँपालिका वार्ड नं. ५ का जनप्रतिनिधि नरहरि भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा क्याम्पसका उपप्रध्यापक ऋषिराम पाण्डेको सञ्चालन रहेको थियो भने क्याम्पस प्रमुख कृष्ण प्रसाद भण्डारीको सभापतित्व रहेको थियो ।

कार्यक्रममा बोल्दै क्याम्पस प्रमुख भण्डारीले बस्तु-कोरिया सम्पर्क समितिलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो । क्याम्पस प्रमुख भण्डारीले यस अघि पनि क्याम्पसलाई लाइब्रेरी स्थापना गर्न पुस्तक र दराज प्रदान गर्नुका साथै सफा पिउने पानीको लागि उक्त समितिले फिल्टर प्रदान गरेको र क्याम्पसको संस्थागत सदस्यता पनि लिएको जानकारी गराउनु भएको थियो ।

वैदेशिक रोजगारीको शिलशिलामा दक्षिण कोरिया रहेका बस्तुका युवाहरुले उक्त समिति गठन गरि विभिन्न संघसंस्थाहरु तथा अति विपन्न परिवारहरुलाई सहयोग गर्दै आइरहेको जानकारी बस्तु-कोरिया सम्पर्क समितिका प्रतिनिधि बाबुराम भण्डारीले गराउनुभएको थियो ।

बस्तु भित्रका सम्पुर्ण शैक्षिक संस्थालाई फिल्टर प्रदान गर्नुका साथै विभिन्न मन्दिरहरुमा आर्थिक सहयोग गरेको उक्त समितिले अति विपन्न परिवारको लागि पनि खाध्यान्न वितरण गरेको थियो ।

रु २५०० मा ४ वर्षे स्नातक तह अध्यापन गराउने यस क्याम्पसले विद्यार्थीलाई निशुल्क कम्प्युटर शिक्षा दिदै आइरहेको छ ।