गण्डकी प्रदेशसभाको विशेष अधिवेशनका लागि समावेदन

प्रकाशित मिति:

काठमाडौं, वैशाख २ : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका तीन दलले प्रदेश प्रमुख समक्ष विशेष अधिवेशन आह्वानका लागि समावेदन दिएका छन्

कांग्रेस सांसद प्रकाश मल्लका अनुसार विशेष अधिवेशनका लागि समावेदन दिईएको छ – कांग्रेसका १५, माओवादी केन्द्रका ११ र जसपाका दुई गरी २८ सांसदको हस्ताक्षरसहित प्रदेशसभा सचिवालयमा मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता भइसकेको छ। गुरुङको सरकारलाई दिएको समर्थन फिर्ता लिएको राष्ट्रिय जनमोर्चाका तीन सांसदले अविश्वास प्रस्तावका पक्षमा मतदान गर्ने सहमति दिएका छन्।

अधिवक्ता ओमप्रकाश अर्यालका अनुसार संविधानको धारा १८८ को उपधारा ४ मा मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव पेश गर्न सकिने व्यवस्था छ। त्यसका लागि नयाँ मुख्यमन्त्रीको नाम पनि प्रस्ताव गर्नुपर्नेछ। गण्डकीमा तीन दलले कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई नयाँ मुख्यमन्त्री प्रस्ताव गर्दै अविश्वास प्रस्ताव पेश गरेका छन्। अविश्वास प्रस्ताव छल्न बुधबार मध्यराति प्रदेश सरकारले प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य गरिसकेको छ। सोही कारण अब तीन दलले संविधानको धारा १८३ उपधारा ३ बमोजिम विशेष अधिवेशनका लागि प्रदेश प्रमुखसमक्ष समावेदन गर्नुपर्नेछ।

उक्त उपधारामा भनिएको छ, ‘प्रदेश प्रमुखले प्रदेशसभाको अधिवेशन चालू नरहेको वा बैठक स्थगित भएको अवस्थामा अधिवेशन वा बैठक बोलाउन वाञ्छनीय छ भनी प्रदेशसभाको सम्पूर्ण सदस्य संख्याको एक चौथाइ सदस्यहरूले लिखित अनुरोध गरेमा त्यस्तो अधिवेशन वा बैठक बस्ने मिति र समय तोक्नेछ। त्यसरी तोकिएको मिति र समयमा प्रदेश सभाको अधिवेशन प्रारम्भ हुने वा बैठक बस्नेछ।’