सबैभन्दा बढी राजस्व कर बुझाउनेमा सिप्रदी र सिद्धार्थ शमशेर जबरा अगाडि

प्रकाशित मिति:

मंसिर ४, २०७५ काठमाडौं – आर्थिक वर्ष २०७३/७४ मा व्यक्तिगत आय अन्तर्गत सबैभन्दा बढी आम्दानी कर बुझाउने सिद्धार्थ शमशेर जबरा र व्यापार कम्पनी अन्तर्गत सिप्रदी ट्रेडिङ प्रालि काठमाडौंमा आयोजित कार्यक्रमबीच सम्मानित भएका छन् ।

सिद्धार्थ शमशेर जबरा सिप्रदी ट्रेडिङ प्रालिका कार्यकारी अध्यक्ष हुन् । सातौ राष्ट्रिय कर दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा सिप्रदी र सिद्धार्थ शमशेर जबरालाई आन्तरिक राजस्व विभागले सम्मान गरेको हो ।

सिद्धार्थ आर्थिक वर्ष २०६८/६९, २०६९/७०, २०७१/७२, २०७२/७३ र २०७३/७४ सम्म लगातार ५ वर्ष सम्मान हासिल गर्न सफल भएका छन् भने उनको कम्पनी सिप्रदी पनि आव २०६९/७०, २०६९/७०, २०७१/७२, २०७२/७३ र २०७३/७४ सम्म लगातार ४ वर्ष उक्त स्थान ओगट्न सफल रहेको छ ।

सिप्रदी ट्रेडिङ प्रालिका कार्यकारी अध्यक्ष हुनुका साथै सिद्धार्थ शमशेर जबराले नेपालमा विभिन्न किसिमका व्यवसायलाई संगठित एवं विस्तारित गराउन उल्लेख्य भूमिका निर्वाह गरेका छन् । नेपाली कर्पोरेट जगतमा एक युवा आयाम मानिने सिद्धार्थ सन् २००१ मा विश्व आर्थिक फोरम डावोसद्वारा ‘ग्लोबल लिडर फर टुमरो’का रूपमा सम्मानित भएका थिए ।

राणा शिक्षा, आर्थिक विकास, सम्पदा सुरक्षा र वन्यजन्तु संरक्षणका क्षेत्रमा आफूलाई एक प्रतिवद्ध व्यक्तित्वका रूपमा चिनाउन सफल रहिआएका छन् । नेपालका ग्रामीण भेगमा स्वास्थ्य र शिक्षा क्षेत्रमा कार्यरत ‘हेल्प नेपाल नेटवर्क’लाई उनले व्यक्तिगत रूपमा सबैभन्दा धेरै एकल दान प्रदान गरेका छन् । विगत ७ वर्षमा पाचौं पटक अधिकतम आयकर बुझाउने ताज राणाले पहिरिएका छन् ।

सिप्रदीले विगत ३७ वर्षदेखि नेपालमा सवारी र सहयोगी व्यवसायमा प्रमुख भूमिका निर्वाह गर्दै आइरहेको छ । नेपालका लागि भारतको टाटा मोटर्स लिमिटेडको एक मात्र आधिकारिक बिक्रेता रहिआएको कम्पनीले मार्क लुब्रिकेन्ट, टायर, ब्याट्री जस्ता अन्य उत्पादनको पनि बिक्रीवितरण गर्दै आएको छ ।

सन् २०१७ मा आन्तरिक राजस्व विभागले नेपालमा पहिलो पटक केन्द्रिय मौद्रिक बिलिङ प्रणालीलाई आत्मसाथ गर्ने र कारोबार विवरण सरकारी निगरानी प्रणालीमा ल्याउने कम्पनीको रूपमा पनि सिप्रदीलाई सम्मान गरेको थियो ।