काग्रेसको नेतृत्व गर्न सभापति देउवा र वरिष्ठ नेता पौडेलले अन्यलाई पालो दिनुपर्छ ; सिंह

प्रकाशित मिति:

बुटवल-  कांग्रेस नेता प्रकाशमान सिंहले केपी शर्मा ओलीलाई प्रधानमन्त्री पदबाट नहटाएसम्म देश शान्त नहुने बताएका छन् । संसदीय विधिबाटै ओलीलाई हटाउन प्रयास गर्नुपर्ने उनले बताए । शुक्रबार बुटवलमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता सिंहले कांग्रेसको कसरतले जारी भएको संविधानविपरीत कदम चालेर आफ्नो दम्भ देखाउने केपी शर्मा ओली नेतृत्वको कम्युनिस्ट पार्टीले लगाएको ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा भाषणमा सीमित भएको आरोप लगाए । संविधान मिचेर घोषणा गरिएको चुनावमा कांग्रेसले भाग लिन नहुने उनको भनाइ छ । ‘चुनाव हुंदैमा सबै कुरा साम्य हुन्छ भन्ने छैन,’ उनले भने, ‘ओलीको कदमविरुद्ध आन्दोलन गर्नेहरु नै सरकारमा स्थान पाइने लोभमा ओलीसँग मिल्ने कुरा गर्नु अपरिपक्व निर्णय हो ।’ उनले यो अवस्थामा अन्य दलसँग मिलेर कांग्रेसले सरकारको जिम्मेवारी लिनुपर्ने बताए ।

कम्युनिस्टका ४र४ पटक नेतृत्व गरेका नेताले जारी गर्न नसकेको संविधान कांग्रेसले जारी गरेको सिंहले बताए । अहिले सरकारमा नेपाली कांग्रेसको स्थान २५ प्रतिशत पनि नरहेको उनको भनाइ छ । संविधान नै जारी गर्न नसकेको कम्युनिस्टलाई हटाएर कांग्रेसले सरकार गठन गर्नुपर्ने सुझाव चारैतिरबाट पार्टी नेतृत्वलाई आइरहेको सिंहले जानकारी दिए ।

उनले पार्टीभित्रैका अग्रज नेताले पद हस्तान्तरणको भूमिका निर्वाह गर्न नसक्दा समस्याको निकाश आउन नसकिरहेको बताए । उमेरको वरीयता देखाएर पदमा बसिरहनु पार्टी, नेता र कार्यकर्ता कसैका लागि पनि उचित नहुने भन्दै उनले अबको नेतृत्व गर्न सभापति देउवा र वरिष्ठ नेता पौडेलले अन्यलाई पालो दिनुपर्ने बताए । नेता सिंहले अग्रजले पत्याएर राजी भए आफू कांग्रेसको नेतृत्व लिई अघि बढ्न तयार भएको बताए । निरन्तर पार्टीकै काममा खटिरहेकाले आफूलाई अघि बढाएर कांग्रेसले पुस्ता हस्तानतरणको अभ्यास अँगाल्नुपर्ने बताए ।