हत्या गरी अंगहरु वेचविखन गर्ने कपिलवस्तु र रुपन्देहीका ६ जना संगठित गिरोह पक्राउ

प्रकाशित मिति:

डिलाराम भुसाल- कपिलबस्तु ३ वैषाख,  महिलाको हत्या गरी शरीरका अंगहरु वेचविखन गर्ने संगठित गिरोहलाई कपिलवस्तु प्रहरीले पक्राउ गरेको छ । गत चैत्र २० गते कपिलवस्तुको शुद्धोधन गाउँपालिका ६ बेतियानदीमा मृत अवस्थामा फेला परेकी रुपन्देहीकी ४२ वर्षीय सरजहा दर्जीको घटना अनुसन्धानबाट तान्त्रिक प्रयोजनका लागि हत्यामा संलग्न ६ जन गिरोहलाई प्रहरीले पत्रकार सम्मेलन मार्फत आज सार्वजनिक गरेको छ । गिरोहले निज महिलाको हत्या गरी हातका औलाहरु ल्याएमा प्रति औला ७०दखि ८० लाख मूल्यमा विक्री हुने भन्ने भ्रमपुर्ण हल्लाको विश्वासमा परी हत्या गरेको प्रहरीको अनुसन्धानमा फेला परेको प्रहरीले बताएको छ ।

रुपन्देही लुम्बिनी साँस्कृतिक नगरपालिका ५ मनहरपुरकी ४२ वर्षीय सरजहा दर्जीको चैत्र १२ गते राती ८ बजे हत्या भएको प्रहरीले जनाएको छ । हत्या गरी निजका हातका औलाहरु काटी विक्री वितरण गर्ने योजना बनाएका संगठित गिरोह मध्ये कपिलवस्तुका ४ जना र रुपन्देहीका २ जना गरी ६ जनालाई पक्राउ गरि मुद्धा चलाइएको कपिलवस्तुका प्रहरी उपरीक्षक नवराज अधिकारीले आज प्रत्रकार समेलन गरी जानकारी गराएका छन् ।

यसरी पक्राउ पर्नेमा कपिलवस्तुको शुद्धोधन गाउँपालिका २ नन्दनगर बस्ने ३९ वर्षीय अब्दुल कलाम मुसलमान, सोही ठाउँका ४५ वर्षीय बेलाल अहमद मुसलमान, शुद्धोधन ५ शिवालवा बस्ने ४५ वर्षीय कृष्ण कुर्मी, सोही ठाउँका ५५ वर्षीय रामहरक यादव र रुपन्देही सैनामैना नगरपालिका १ का ६७ वर्षीय कर्ण बहादुर सुनार, बुटवल उप महानगरपालिका ९ शिवनगर बस्ने खेमबहादुर मल्ललाई प्रहरीले सार्वजनिक गरेको छ । उनीहरुले मृतकलाई फोन गरी बोलाई हत्या गर्ने, लाशलाई बेती नदीमा फाल्ने, मृतकका औलाहरु काट्ने र विक्री प्रयोजनका लागि विभिन्न व्यक्तिलाई दिने जस्ता संगठित अपराधको कसुरमा संलग्न भएको पाइएको प्रहरीको अनुसन्धानमा फेला परेको बताएको छ ।