पप्पु कन्स्ट्रक्सनलार्इ नयाँ ठेक्का प्रक्रियामा भाग लिन रोक

प्रकाशित मिति:

मङ्सिर ४ काठमाडौं : विवादमा पर्दै आएको निमार्ण कम्पनी पप्पु कन्स्ट्रक्सनलाई नयाँ ठेक्कामा सहभागी हुन रोक लगाइएको छ । सार्वजनिक खरिद अनुगमन कार्यालय, ताहाचलले मंगलबार एक सूचना जारी गरी कालो सूचीका लागि सिफरिस गरिएको पप्पु कन्स्ट्रक्सनलाई सार्वजनिक निकायका नयाँ खरिद कार्यमा सहभागी नगराइने जानकारी गराएको हो ।

सिक्टा सिँचाई आयोजना बाँकेले पप्पुलाई कालो सूचीमा राख्न  भनी कार्तिक २६ गते पत्रचार गरेको थियो । सोही पत्राचारका आधारमा सार्वजनिक खरिद नियमावली-२०६४, अनुसार पप्पुलार्इ नयाँ टेण्डर प्रक्रियामा सहभागी नगराउने निर्णय गरेको बताइएको छ । सूचनामा लेखिएको छ ‘निज निर्माण व्यवसायीलाई तत्काल अन्य खरिद कार्यको जिम्मेवारी दिँदा मुलुकलाई थप हानी नोक्सानी हुने देखिएको छ।’

कालो सूची सम्बन्धी कारबाही प्रक्रिया टुंगो नलागेसम्म पप्पु कन्स्ट्रक्सनलाई सार्वजनिक निकायको नयाँ खरिद प्रक्रियामा भाग लिन नदिइने सार्वजनिक खरिद अनुगमन कार्यालयले जनाएको छ ।

राष्ट्रिय गौरवकाो आयोजनाका रुपमा रहेको बाँकेको सिक्टा सिँचाइ आयोजनाले सम्झौता अनुसार काम अघि नबढाएको भन्दै कालोसूचीमा राख्न पत्र पठाएपछि सार्वजनिक खरिद अनुगमन कार्यालयले पप्पु कन्स्ट्रक्सनसँग स्पष्टिकरण लिई कालोसूचीमा राख्ने तयारी गरिरहेको छ ।