नेपाल विद्यार्थी संघ बिगतदेखि आजसम्म 

प्रकाशित मिति:

प्रजापाल गिरी –  राष्ट्रियता, लोकतन्त्र, समाजवाद र विद्यार्थी एकतालाई आफ्नो आदर्श मानेर २०२७ साल बैशाख ६ गते स्थापना भएको नेपाली बिद्यार्थीहरुको गौरवशाली संगठन नेपाल विद्यार्थी संघ आज ५१ बर्ष पार गरेर ५२औं बर्ष प्रवेश गरेको छ। यस अवसर मा सर्वप्रथमत नेबिसंघको झण्डा मुनि गोलबद्ध भएर संगठनको लक्ष्य र उद्धेश्य प्राप्तिका दौरानमा भएका आन्दोलनका क्रममा सहादत प्राप्त वीर शहीदहरुप्रती भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । नेपाल बिद्यार्थी संघमा आवद्ध भएकै कारण अङ्गभङ्ग र घाइते हुनुभएका साथीहरूप्रती उच्च सम्मान प्रकट गर्दछु। साथै विद्यार्थीका बर्गीय मुद्धाहरुको उठान र समाधान गर्न नेबिसंघ र यसको नेतृत्व सक्षम, इमानदार र जवाफदेही छ भन्ने अटल बिश्वासका साथ नेबिसंघको झण्डामुनि गोलबद्ध भै नेपालको लोकतन्त्रको बिकास,बिस्तार र जगेर्ना गर्दै बिद्यार्थीहरुका बर्गीय मुद्धा स्थापित गर्न अनवरतरुपमा कृयाशिल सम्पुर्ण साथीहरूमा ५२ औं स्थापना दिवसको हार्दिक शुभकामना टक्राउँदछु।

नेबिसंघको स्थापना आफैमा शसक्त मुद्धा र आन्दोलनः तत्कालीन समय जतिबेला राजनैतिक उद्देश्य प्राप्तिका लागि संगठित हुन, संगठन गर्न, बिचारको स्वतन्त्रता, कानुनीरुपमै प्रतिबन्ध थियो । जहाँनिया निरंकुश राणा शासनको अन्त्यका लागि भएको जनक्रान्ती, निर्दलिय पन्चायती व्यवस्थाको अन्त्य का लागि भएका पटकपटकका आन्दोलन या ०४६ सालको जनआन्दोलन, अथवा पछिल्लो प्रतिगमन विरुद्धको २०६२\ ६३ को राजतन्त्र बिरोधि आन्दोलन नै किन नहोस हरेक प्रतिकुल समयमा नेपाली युवाहरू प्रजातन्त्रको पक्षमा संघर्षमा उत्रेकै कारण, प्रजातन्त्र बिना सुनिश्चित सुन्दर भबिस्यको कल्पना गर्न पनि सकिदैन भन्ने भावना बोकेकै कारण, युवा बिद्यार्थीहरुको प्रजातन्त्रप्रतिको त्याग, तपस्या र बलिदानीकै परिणामस्वरूप प्रजातान्त्रिक आन्दोलन अघि बढी नै रह्यो । राजनैतिक कृयाकलाप (कानुन बिपरित थियो) सञ्चालन गरेको अवस्थामा मृत्युदण्ड समेतको सजाय हुनसक्दछ भन्ने बुझेर पनि युवा विद्यार्थीहरुले देखाएको समर्पणका अघि तत्कालीन समयका सत्ताले घुँडाटेक्न बाध्य भयो। नेपाली युवा बिद्यार्थीहरुको बलिदानीका कारण राणा शासनको अन्त्य र प्रजातन्त्र को स्थापनाको लागि शुरु भएको प्रजातान्त्रिक यात्रा विभिन्न आरोह अवरोहका वाबजुद संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल सम्म आइपुगेको छ। यी सबै खाले आन्दोलनमा नेपाल विद्यार्थी संघले खेलेको नेतृत्वदायी भुमिका सुनौला अक्षरले अंकित छन्।

नेबिसंघको नामाकरण, झण्डा र आदर्शः नामाकरणः अखिल नेपाल राष्ट्रिय विद्यार्थी सम्मेलनको ब्यानरमा गरिएको प्रथम सम्मेलनमा देशभरका कलेजहरुबाट प्रतिनिधि तथा पर्यबेक्षक गरि करीव दुई सय जना विद्यार्थीहरुको उत्साहजनक सहभागिता रहेको थियो । स्वयम्भूको जंगलमा भएको उदघाटन सम्मेलनको प्रुमुख अतिथि नेपाली कांग्रेसका नेता कृष्ण प्रसाद भट्टराई हुनुहुन्थ्यो भने उक्त उदघाटन कार्यक्रमको सभापतित्व त्रिभुवन बिश्वविद्यालय विद्यार्थी युनियनका संयोजक देबेन्द्रलाल नेपालीले गर्नुभएको थियो । उदघाटन सत्रपछि भएको बिधान छलफल सत्रमा संगठनको नामाकरण सम्बन्धि छलफल भयो । प्रस्ताव को रुपमा विद्यार्थी नेता मार्शल जुलुम शाक्यले “अखिल नेपाल स्वतन्त्र विद्यार्थी संघ” को प्रस्ताव गरे, प्रस्तावकै रुपमा “नेपाल छात्र संघ ” पनि आयो र “नेपाल विद्यार्थी संघ” राख्ने प्रस्ताव पनिआएपछि लोकतान्त्रिक पद्धति अनुसार खुल्ला मत लिने निर्णय अनुसार बहुमत विद्यार्थी नेपाल विद्यार्थी संघको पक्षमा देखिएपछि “नेपाल विद्यार्थी संघ ” नाम राख्ने निर्णय पारित भयो।यसरी नेबिसंघको नामाकरण खुल्ला लोकतान्त्रिक अभ्यासद्वारा गरिएको इतिहास छ ।

झण्डाः नेपाल विद्यार्थी संघको झण्डा निर्माणको समेत आफ्नै ऐतिहासिक र क्रान्तिकारी इतिहास छ । तत्कालीन समयमा सेन्ट्रल जेलमा प्रजातन्त्र प्राप्तिको आन्दोलनमा सहभागी भए बापत जेल जीवन बिताइरहेका नेताहरु रामचन्द्र पौडेल जो आज कांग्रेसको बरिस्ठ नेता हुनुहुन्छ,ओमकार श्रेष्ठ लगायतले सेन्ट्रल जेलभित्र ओमकार श्रेष्ठ बस्ने ६ नम्बर कोठामा निकै दिनको बहसपछि “अनवरत संघर्षको प्रतीक रातो रङ्गको पृष्ठभुमिमा शान्तिको अन्तिम लक्ष्य सेतो गोलाकारमा विद्यार्थी संकेत जनाउने कलम र बिद्रोह वा चेतनाको प्रतिक बलिरहेको मशाल अंकित झण्डाको नक्सा तयार भयो ।” सोही झण्डाको नक्सा नै पछि नेबिसंघको आधिकारिक झण्डाको रुपमा पारित भयो र नेबिसंघको बिधान र घोषणापत्र ड्राफ्टको तयारी गर्ने कामपनि रामचन्द्र पौडेल लगायत विद्यार्थी नेताहरूले गर्नुभयो।

नेबिसंघका आदर्शः राष्ट्रियताः नेपाली जनतामा राष्ट्रिय एकता अभिबृद्धी गरी नेपालको सार्वभौम अस्तित्वको रक्षाका लागि सदा तत्पर रहँदै राष्ट्रकासामु उत्पन्नअसहज परिस्थितिलाई समाधान गर्न सामुहिक भावनाको बिकास गराउनु । लोकतन्त्रः
आवधिक निर्वाचन मार्फत जनताद्वारा, जनताका लागि, जनता माथी गरिने शासन पद्धति । समाजवादः राजनैतिक स्वतन्त्रताको माध्यमबाट प्रगतिशील कर प्रणाली लागू गरि आर्थिक समानता कायम गर्नु । र विद्यार्थी एकताः बिद्यार्थीको हकहितको रक्षा गर्दै आफ्ना बर्गिय समस्याहरूको समाधान गर्न विद्यार्थी बर्गलाई एकताबद्ध गराई राष्ट्र बिकासका लागी योग्य, सक्षम र इमानदार व्यक्तित्व निर्माण गर्न, समय अनुकूल पाठ्यक्रमको बिकास,शिक्षानिति तर्जुमा र कार्यान्वयन का लागि दवाव सृजना गर्नु । जस्ता राजनैतिक र बर्गीय मुद्धाको उठान र दवावको उद्देश्य राखेर स्थापना गरिएको संगठन तत्कालीन निरंकुश पन्चायती सरकार र शासककालागी ठुलो चुनौती थियो, बिद्रोह थियो । आफ्नो ज्यानको पर्वाह नगरी चेतनशील युवाहरूको अदम्य साहश र लोकतन्त्र प्राप्तिको तृष्णाका कारण बिधिवत रुपमा गठन भएरै छाड्यो ।

नेबिसंघ र प्रजातन्त्रबादी विद्यार्थी संगठनको नेतृत्वमा भएका महत्वपूर्ण आन्दोलनः विद्यार्थी बर्गको बर्गीय हित र शैक्षिक बेथितिका विरुद्ध भएका आन्दोलन बाहेक नेपालको राजनैतिक इतिहासमै महत्त्वपूर्ण परिवर्तनका लागि गरेका केही महत्त्वपूर्ण आन्दोलनहरु
जयन्तु संस्कृतम आन्दोलन
२०२० साल बैशाख २३ गते त्रिबिबिको विद्यार्थी हडताल
२०२२ सालको विद्यार्थी आन्दोलन
२०२६ सालको विद्यार्थी आन्दोलन
२०३६ सालको चर्चित विद्यार्थी आन्दोलन जसले जनमत संग्रहको घोषणा गर्न बाध्य गरेको थियो।
स्व.वि.यु. निर्वाचनको लागि भएको २०३६ सालको महत्त्वपूर्ण आन्दोलन।२०३६ जेष्ठ १३गते स्व.वि.यु.निर्वाचनको मिति तय।
२०४६ सालको जनआन्दोलनमा युवा विद्यार्थीको नेतृत्व
२०६२\ ६३ को आन्दोलनमा युवा विद्यार्थीको नेतृत्व
नेपालको हरेक लोकतान्त्रिक आन्दोलनकोअग्रमोर्चाको कमान्ड मात्र होईन नागरिकको दैनिक जिबिकाका सवालमा, अन्यायमा परेका नागरिकको न्यायको पक्षमा, राष्ट्रिय बिपत्तिका समयमा राज्यसँग काँधमाकाँध मिलाउदै सहकार्य समेत गर्ने शक्ति हो नेबिसंघ ।

विभिन्न कालखण्डमा नेबिसंघलाई नेतृत्व प्रदान गरेका नेताहरूः
आन्दोलनको मैदानबाट खारीएर आएका आन्दोलनकारी विद्यार्थीहरुको संगठन भएकाले नेबिसंघ यसका नेतृत्वपङ्क्ति को न्यानो र बिशेष गुणले सुसज्जित र सुसस्कृत भएको छ ।
प्रथमअधिवेशन २०२७ बैशाख ६ सभापति बिपिन कोइराला
दोश्रो२०२८सभापति शेरबहादुर देउवा महामन्त्री रामशरणमहत
तेस्रो अधिवेशन गर्न बलबहादुर केसि अध्यक्षतामा तदर्थ समिति
तेस्रो २०३६ सभापति बिमलेन्द्र निधि महामन्त्री दील ब, घर्ती
बिमलेन्द्रबाट ०३९ जेठमा राजिनामापछि अन्तरिमसमिति गठन
०३९असार१०मा सभापति ज्ञानेन्द्र कार्की मामन्त्री महादेवगुरुङ
चौथो०४०सभापति बलबहादुर केसि मामन्त्री प्रकाशशरणमहत
पाँचौ ०४४सभापति बालकृष्ण खाँण मामन्त्री नबिन्द्रराज जोशी
छैटौं ०४८सभापति एनपी सावद महामन्त्री चन्द्र भण्डारी
सातौअधिवेशन गर्न सभापति धनराजगुरुङ मामन्त्रीबिश्वप्रकास
सातौ०५३सभापति गोबिन्दभट्टराई मामन्त्री उमेशजङ्ग रायमाझी
आठौं ०५७सभापति बिश्वप्रकाश शर्मा महामन्त्री यादव पण्डित
नवौं ०५९सभापति गुरुराज घिमिरे महामन्त्री गगन कु. थापा
पार्टीद्वारा समय अगावै नवौं अधिवेशनको समिती विघटन गरि
सभापति केशव सिंह महामन्त्री बासु कोइरालाको समिती गठन
केशव सिंहको राजीनामा पछि
सभापति महेन्द्रकुमार शर्मा महामन्त्री बद्री पाण्डे रन्जित कर्ण
दसौं अधिबेशन सभापति प्रदिप पौडेल महामन्त्री गजेन्द्र कार्की मनोजमणी आचार्य। प्रदिपपौडेलले राजीनामा गरेपछी सभापति रन्जित कर्ण।उता नेपालीकांग्रेस फुटेर बनेको नेकाप्रजातान्त्रिक को नेबिसंघमा किशोरसिंह राठौर,कल्याण गुरुङले नेतृत्व प्रदान गरेका थिए । सबैभन्दा पछिल्लो एघारौं अधिवेशनबाट सभापति नैनसिंह महर महामन्त्री कुन्दनराज काफ्ले,सरोज थापा,आनन्द त्रिपाठी थिए । नैनसिंह महरले राजिनामा गरेपछि सभापति राजीव ढुंगाना महामन्त्री युवराज पाण्डे, बलदेव तिमिल्सिना, उर्मिला थपलिया, दीपक भट्टराई, मनोज बैध्य रहेको केन्द्रीय समितिलाई अधिवेशनको जिम्मेवारी तोकेको छ । यदि भुलबस कसैको नाम छुट हुन गएकोभए क्षमा चाहान्छु।

नेबिसंघको राजनीतिमा देखिएका बिकृती र बिचलनः आफैमा प्रजातान्त्रिक आन्दोलनको रुपमा बिकास र बिस्तार भएको नेबिसंघमा समेत अन्य विद्यार्थी संगठनमा जस्तै केही राजनैतिक केही सैद्धान्तिक त केही सांगठनीक समस्याहरु बिसङ्गतीका रुपमा प्रकट भएका छन । लोकतान्त्रिक अभ्यास द्वारा विद्यार्थीका बिचबाट स्वस्थ राजनैतिक प्रतिस्पर्धा मार्फत नेतृत्वको दाबेदारी गर्ने, नेतृत्व छनौट गर्ने, विद्यार्थीका बर्गीय मुद्धा स्थापित गर्न संगठनको व्यापक परिचालन गरेर संगठनको स्विकार्य र प्रिय बन्ने भन्दापनी पार्टी नेतृत्वको अस्वभाविक आशीर्वादको पात्र बनेर नेता बन्ने होडले संगठनको राजनैतिक र सैद्धान्तिक पक्षलाई कमजोर बनाएको छ । विधि, बिधान र प्रक्रिया असङ्गगत तवरबाट गरिएका क्रियाकलाप र अस्वस्थ प्रतिस्पर्धाले संगठन भित्र प्राकृतिक न्यायको सिद्धान्त समेत मृतःप्राय बनेको छ । मातृ पार्टीको अनावश्यक हस्तक्षेप र भागबन्डामा समिती निर्माण गरिनुले स्वस्फूर्त उत्साही युवाहरू मा निराशा ब्याप्त छ । बिधानमा व्यवस्था भएको प्रावधान अनुरुप समयमै संगठन भित्र अधिवेशन नहुनु विडम्बना भएको छ । समय समयमा अधिवेशन नभएका कारण नेतृत्व जाम भएर बसेको छ । विद्यार्थी नेतृत्वपङ्ती बर्गीय मुद्धा भन्दा बढी पार्टी भित्रको गुटबन्दीमा रमाइरहेको छ । निहित स्वार्थ, गुटगत घेराबन्दी, शक्तिको दुरुपयोग र आर्थिक चलखेल जस्ता गैर राजनैतिक प्रभावका कारण नेबिसंघ मात्रै होइन युवा विद्यार्थी आन्दोलन र समग्रमा सिङ्गो लोकतान्त्रिक आन्दोलननै कमजोर बनेको छ ।

अबको नेबिसंघः आजको यो २१औं सताब्दीमा बिज्ञान र प्रबिधिको यति बिघ्न रफ्तारको बिकास र बिस्तारले बिश्व एउटा गाउँ भए जस्तै आन्दोलनको मैदानबाट आन्दोलनकारीको पहिचान बनाएको नेबिसंघको भुमिका र जिम्मेवारीपनि फेरिएकोछ।निरंकुशताको अन्त्य र लोकतन्त्रको स्थापना गर्दै युवा विद्यार्थीका बर्गीय मुद्धा स्थापित गर्नु तत्कालीन समयको ऐतिहासीक मुख्य कार्यभार थियो भने अहिले एकातर्फ आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा र संस्थागत बिकाससङ्गै आफैले पहिचान र उठान गरेका बर्गिय मुद्धाको समाधान र व्यवस्थापन गर्ने अभिभारा पनि छ। समय सापेक्ष पाठ्यक्रमको बिकास, शिक्षा नितिको तर्जुमा र कार्यान्वयन, बिज्ञान प्रबिधिको अधिकतम प्रयोग मार्फत सिकाइ पद्धति, रोजगारमुलक सीप बिकास, जीवन चलाउने मात्र होईन जीवन फेर्ने निशुल्क गुणस्तरीय शिक्षा मार्फत बिश्वबजार मा प्रतिस्पर्धा गर्नसक्ने नेपाली युवा नागरिकको उत्पादन गर्ने नीति लागू गराउन नेबिसंघलाई समयले प्रदान गरेको जिम्मेवारी हो । नेपाली युवा विद्यार्थीहरुको सचेततापुर्ण संघर्षबाट निरंकुश व्यवस्थाको समुल अन्त्य त भएको छ तर हाम्रो समाज र हाम्रा नेतृत्वको मनोबिज्ञानलाई पुर्ण लोकतान्त्रिकरण गर्न युवाहरूको पहरेदारी र खवरदारी अझै आवस्यक रहिरहन्छ।अन्यथा युवा विद्यार्थीहरु आन्दोलन गर्न सक्दछन तर आन्दोलनबाट प्राप्त उपलब्धिहरु को रक्षा र संस्थागत बिकास गर्न सक्दैनन् भन्ने आरोपबाट मुक्ति मिल्नेछैन । सचेततापुर्वक लोकतन्त्र प्राप्तीका आन्दोलनमा होमिएका होनहार युवाहरुलाई आन्दोलनकारीको बदला बेरोजगारको भिडको बिल्ला भिराउनु पुर्व युवा विद्यार्थीहरुले आफ्नो पार्टी र संगठनको आन्तरिक लोकतन्त्र मजबुत गराउन दवाव सृजना गर्नुपर्छ ।

अन्त्यमाः नेपालको प्रजातान्त्रिक आन्दोलन २००७ सालदेखि २०६२\६३ सम्म आइपुग्दा युवा विद्यार्थीहरुको देखाएको समर्पण,अदम्य शाहस र निरन्तरको बलिदानीकाकारण देश संघीयलोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा प्रवेश गरेकोछ। संविधान निर्माणको सर्बोच्च माध्यम संविधान सभा मार्फत बहुलवादमा आधारित बहुदलीय लोकतान्त्रिक व्यवस्था सहितको संविधान जारी भैसकेकोछ । सबै जातजाति, भाषाभाषी,धर्म,सम्प्रदाय,लिङ्गको आधारमा समाबेशी चरित्रको राज्य व्यवस्था निर्माण भएको छ। बिभेदमुक्त समाजको परिकल्पना सहित सोही मुताबिकका कानुनहरु कार्यान्वयनमा छन्। आमनागरिकलाई राज्यसत्ताको पहुँचमा पुर्‍याउने उद्देश्य स्वरुप संघीयता कार्यान्वयनमा छ । लोकतन्त्र,आवधिक निर्वाचन, मानवअधिकार, प्रेश स्वतन्त्रता, शान्तिपूर्ण रुपमा भेला हुने, बिचारको स्वतन्त्रता, कानुनको सर्बोच्चता, विभिन्न संबैधानिक आयोगको व्यवस्था, शक्ति सन्तुलन र पृथकिकरणको सिद्धान्त हाललाई राज्यलेअवलम्बन गरेका मुलभुत सिद्धान्त भित्रपर्न आउँछन। राजनैतिक रुपमा जनता अधिकार सम्पन्न भएकाछन् भने आर्थिकरुपमा समृद्धि को यात्रा अबको गन्तव्य बन्नुपर्छ । सात दशक लामो संघर्ष र ठुलो कुर्बानीबाट स्थापना भएको हाम्रो लोकतन्त्रमाथी कतिपय समयमा प्रजातन्त्र र परिवर्तन नचाहने शक्तिबाट त कतिपय अवस्थामा लोकतान्त्रिक आन्दोलनकै सहयात्री सारथिहरुको नेतृत्व क्षमताको कमी, विधि, प्रक्रिया र प्रणालीमाथी नेतृत्वको संकीर्ण सोच, निहित र क्षणिक स्वार्थ हाबी हुनु आदिआदि कारणले बेलाबेलामा लोकतान्त्रिक मूल्य, मान्यतामा आघात पुग्ने गरेकोछ। परिवर्तनगामी आमनेपाली युवा विद्यार्थीहरुको भावनामा ठेश लाग्ने गरेकोछ। तसर्थ नेपाली युवाविद्यार्थीहरुको बलिदानीपुर्ण संघर्षबाट स्थापित लोकतन्त्रको बिरुद्ध कसैले आँखा झिम्काउने सम्मको शाहस नगरे हुन्छ। नेपालको इतिहास त्यही भन्छ । सन्दर्भः नेपाल विद्यार्थी संघको ५२ औं स्थापना दिवस- लेखक नेबिसंघ बुटवल बहुमुखी क्याम्पसका पुर्व सभापति समेत हुनुहुन्छ