कांग्रेस महाधिवेशनको आन्तरिक कार्यतालिका परीर्वतन

प्रकाशित मिति:

काठमाडौँ ; नेपाली कांग्रेसले पार्टीको १४ औं महाधिवेशनको आन्तरिक कार्यतालिका परिवर्तन गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले क्रियाशील सदस्यताको नामावली वेबसाइटमा इन्ट्री गर्ने मिति परिवर्तन गरेर जेठ १५ गते राति १२ बजेसम्म पुर्‍याएको केन्द्रीय सदस्य प्रदीप पौडेलले जानकारी दिए ।

‘क्रियाशील सदस्यताको नामावली पार्टीको वेबसाइटमा इन्ट्री गर्ने मिति बैशाख १५ सम्म पुर्‍याउने निर्णय भएको छ,’ सदस्य पौडेलले इकागजसँग भने, ‘त्यस्तै क्रियाशील सदस्यतासम्बन्धी भएका निर्णयको कागजात केन्द्रमा बुझाउने मिति बैशाख १७ गते ५ बजेसम्म पुर्‍याइएको छ ।’ यसअघि शीर्ष नेताहरूबीच सहमति गरेर यो एजेण्डा केन्द्रीय समितिमा लगिएकाले सर्वसम्मत रूपमा निर्णय भएको हो ।

यसअघि क्रियाशील सदस्यताको नामावली वेबसाइटमा इन्ट्री गर्ने समय चैत मसान्तसम्म थियो । साढे एक महिना थपेर जेठ १५ गते पुर्‍याइएको हो ।

बैठकमा संरचना समायोजनसम्बन्धी जटिल विषय भने प्रवेश नै नगरेको सदस्य पौडेलले बताए ।त्यस्तै बैठकले क्रियाशील सदस्यता सम्बन्धी निर्णय वेबसाइटमा सार्वजनिक गर्ने निर्णय पनि बैठकले गरेको छ । अन्य पार्टीबाट कांग्रेस प्रवेश गरेकाहरूलाई यही बैशाख १२ गतेसम्म सदस्यताको फाराम लैजान दिने र बैशाख मसान्तसम्म फाराम बुझाउन दिने निर्णय बैठकले गरेको पौडेलले बताए ।