भोलिदेखि भैरहवा टी–१० क्रिकेट हुने

प्रकाशित मिति:

प्रकाश नयौपाने- भैरहवा, वैशाख ७, बुधबारबाट रुपन्देहीको भैरहवामा स्टडील्याण्ड टी–१० क्रिकेट प्रतियोगिता हुने भएको छ । मेलवर्न क्रिकेट एण्ड स्पोट्र्स क्लब (एमसीसी) को आयोजनामा टी–१० फर्मेटमा नेपालमै पहिलोपल्ट प्रतियोगिता हुन लागेको हो । आयोजकले मंगलबार भैरहवामा पत्रकार सम्मेलन गरी भारतसहित रुपन्देही र नवलपरासीका क्रिकेट टिमको प्रतियोगितामा सहभागिता रहेको जनाएको छ । अन्तरदेशिय क्रिकेटले दुई देशको सम्बन्ध थप प्रगाढ हुनुका साथै क्रिकेटको पनि विकास हुने भएकाले प्रतियोगिता आयोजना गरिएको खेल संयोजक रोशालाल गुप्ताले बताए ।

नेपाल क्रिकेट संघका केन्द्रिय सदस्य प्रशान्त विक्रम मल्लले पछिल्लो समय छोटो समयका खेलहरुप्रति आकर्षण बढेकाले पहिलोपल्ट टी–१० प्रतियोगिता आयोजना गरिएको बताए । प्रतियोगितामा भारतको गोरखपुर र महाराजगंजका दुई टिम तथा नवलपरासीको एउटा टीमसहित १६ टिम सहभागी छन् ।

प्रतियोगितामा विजेता टिमलले नगर ५० हजार रुपैयाँ र ट्रफी तथा उपविजेताले २५ हजार र ट्रफी प्राप्त गर्नेछन् । यस्तै, म्यान अफ द सिरीजले १० हजार, बेष्ट ब्याट्सम्यान र बेष्ट बलरले समान ५÷५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । यसैगरी बेष्ट क्याच र बेष्ट सिक्सेसले दुई हजार ५ सय रुपैयाँ तथा प्रत्येक दिनको म्यान अफ द म्याचले एक हजार रुपैयाँ प्राप्त गर्नेछन् । वैशाख १८ गतेसम्म चल्ने प्रतियोगिता सिद्धार्थ रंगशालामा हुनेछ ।