जसपाले सोध्यो लुम्बिनी प्रदेशसभाका चार सदस्यलाई स्पष्टीकरण

प्रकाशित मिति:

७ वैशाख, बुटवल । पार्टी र संसदीय दलको निर्णय तथा ह्वीप उल्लंघन गर्दै मन्त्री बनेको भन्दै चार सांसदलाई जनता समाजवादी पार्टी संसदीय दलले २४ घण्टे अल्टिमेटमसहित स्पष्टीकरण सोधेको छ । सरकारविरुद्ध अविश्वास प्रस्ताव दर्ताका सोमबार बिहान लागि हस्ताक्षर गरेका सन्तोष पाण्डे र सुमन रायमाझीसहित विजय यादव र कल्पना पाण्डे लम्साललाई २४ घण्टाभित्र स्पष्टिकरण बुझाउन संसदीय दलले निर्देशन दिएको हो ।

संसदीय दलका नेता सहषराम यादवले राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा २८ उपदफा १ ९क० र २ बमोजिम चारैजनालाई छुट्टाछुट्टै पत्र लेखेर स्पष्टिकरण बुझाउन निर्देशन दिएको जानकारी दिए । ‘पार्टी प्रदेश समितिको चैत २६ गतेको निर्णय र संसदीय दलको बैसाख ६ गतेको निर्णय अनुसार सरकारविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने निर्णय र अविश्वास प्रस्तावमा हस्ताक्षर गर्न ह्वीप जारी गरिएको निर्णय थाहा हुँदाहुँदै मन्त्रीको सपथ लिनु गम्भीर ह्वीप उल्लंघन हो’–पत्रमा सोधिएको छ–‘दल र दलका नेताको निर्देशन ह्वीप किन उल्लंघन गरेको हो ?  प्रचलित कानून र संसदीय दलको विधान विपरित अर्को संसदीय दल गठन केका आधारमा गरेको हो ?

२४ घण्टाभित्र चित्तबुझ्दो स्पष्टिकरण नआए प्रदेश सभा सदस्य पदबाट मुक्त गर्न प्रचलित कानून अनुसार दलले आवश्यक प्रकृया अघि बढाउने दलका नेता यादवले बताए ।