राष्ट्रपति रनिङ शिल्डमा बुटवल प्रथम

प्रकाशित मिति:

बुटवल, ८ बैसाख । १२औं राष्ट्रपति रनिङ शिल्ड अन्तरपालिका जिल्लास्तरीय प्रतियोगितामा बुटवल उपमहानगरपालिका प्रथम भएको छ । जिल्लाका १६ मध्ये १० वटा पालिकाले प्रतिस्पर्धा गरेकामा बुटवलले १० स्वर्ण, १२ रजत र १४ कास्य पदक जित्दै रनिङ शिल्ड आफ्नो पोल्टामा पारेको हो । स्थानीय तहको निर्वाचनपछि भएको यो पहिलो अन्तरापालिका जिल्लास्तरीय प्रतियोगिता हो । प्रतियोगितामा १० स्वर्ण, ९ रजत र ५ कास्य सहित तिलोत्तमा नगरपालिका दोस्रो र ५ स्वर्ण, ५ रजत र ५ कास्यसहित कञ्चन गाउंपालिका तेस्रो भएको छ । विजेतालाई प्रदेश सामाजिक विकास मन्त्रालय, सामाजिक विकास डिभिजन कार्यालय प्रमुख देवीराम भण्डारी र जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख संगम थापाले जिल्ला खेलकुद विकास समितिको कार्यालयमा रनिङ शिल्ड प्रदान गरेका छन् ।

पदक विजेतालाई कालिका मानवज्ञानको सम्मान- १२औं राष्ट्रपति रनिङ शिल्ड अन्तरपालिका जिल्लास्तरीय प्रतियोगितामा पदक विजेता विद्यालयका खेलाडी र अभिभावकहरुलाई कालिका मानव ज्ञान माविले सम्मान गरेको छ । प्रतियोगितामा भाग लिएका विद्यालयका १६ जना खेलाडी र उनीहरुका अभिभावकहरुलाई एक कार्यक्रमबीच सम्मानपत्रसहित सम्मान गरिएको हो । प्रतियोगितामा बुटवल उपमहानगरपालिकाको तर्फबाट खेलेका रक्षा थापा श्रीस, प्रिति थापा, सिर्जना राना,दीपेन थापा र आस्मा विकले स्वर्ण पदक जितेका थिए । यस्तै रजत र कास्य पदक जितेका कृति पराजुली,रोशन गुरुङ,विकास मिश्रा,तृष्णा तरामु,आकाश थापा,कृष्टिना ढेंगा,असीम थापा,विशाल पराजुली,विवेक खनाल, रक्षा शाही र दिप्ती कार्की पनि सम्मानित भएका छन् ।

उनीहरुलाई बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्मा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष होमबहादुर गलामी,कार्यवाहक प्रधानाध्यापक लोकराज घिमिरे,सहायक प्रधानाध्यापक पिताम्बर बन्जाडे, बुटवल कालिका क्याम्पसका प्रमुख घनश्याम पाठकले सम्मान गरेका हुन् । खेलाडीसंगै विद्यालयका खेल प्रशिक्षक हरिश वली र अभिभावकहरुलाई पनि सम्मान गरिएको थियो । कार्यक्रमका वक्ताहरुले खेल प्रशिक्षक वलीको अथक मेहनतका कारण विद्यालयका खेलाडीले सबैभन्दा धेरै पदक जित्न सफल भएका र विद्यालयस्तरीय रनिङ शिल्डमा पनि उत्कृष्ट हुन सफल भएको चर्चा गरेका थिए ।