नेपाल सुपर लिगको विजेताले ३५ लाख पाउने

प्रकाशित मिति:

१० वैशाख काठमाडौं । नेपालमा पहिलो पटक आयोजना हुन लागेको फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग एनएसएलको विजेताले नगद ३५ लाख रुपैयाँ पुरस्कार पाउने भएका छन् । आयोजक नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टले प्रतियोगिताको अघिल्लो दिन शुक्रबार पत्रकार सम्मेलन गर्दै पुरस्कार राशी घोषणा गरेको हो ।

उपविजेताले भने १५ लाख रुपैयाँ पाउने । यस्तै उत्कृष्ट गोलकिपर, डिफेण्डर, मिडफिल्डर, फरवार्ड र प्रशिक्षकले १(१ लाख रुपैयाँ प्राप्त गर्ने एनएसएलका निर्देशक श्रेयांश कार्कीले बताए । यसैगरी प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने एक जना राइजिङ खेलाडीलाई पनि पुरस्कृत गर्ने उनले बताए । तर त्यसको रकम भने खुलाइएको छैन ।

यस बाहेक हरेक खेलको म्यान अफ दि म्याचले २५ हजार रुपैयाँ पाउनेछन् । यस्तै हरेक खेलमा उत्कृष्ट प्रदर्शन गर्ने एक जना इमर्जिङ खेलाडीले पनि १० हजार रुपैयाँ प्राप्त गर्ने कार्कीले बताए । नेपाल फुटबल संघ एन्फाको प्राविधिक सहयोगमा हुन लागेको प्रतियोगितामा नेपालको सात फ्रेन्चाइज टिम विराटनगर सिटी एफसी, काठमाडौं रेजर्स, ललितपुर सिटी एफसी, एफसी चिवतन, पोखरा थण्डर्स, बुटबल लुम्बिनी एफसी र धनगढी एफसीले प्रतिस्पर्धा गर्नेछन् ।