प्रधानमन्त्रीको सुरक्षा सामग्री किन्न साढे २ करोड लागेपछी ,,,,

प्रकाशित मिति:

४ मंसिर, काठमाडौं । चालु आर्थिक वर्षको पहिलो चौमासिक पूरा नहुँदै कात्तिक महिनामा झण्डै साढे ६ अर्ब रुपैयाँ सहयोग शीर्षकमा खर्च र रकमान्तर गरेको छ । कात्तिक महिनामा विभिन्न व्यक्तिलाई सहयोग, तथा एउटा शीर्षकमा छुट्याइएको रकम अर्कै शीर्षकमा रकमान्तर गरेर ६ अर्ब २६ करोड ४४ लाख रुपैयाँ खर्च गरिएको हो । सामान्यतया आर्थिक वर्षको पहिलो चौमासिक पूरा नहुँदासम्म रकमान्तर गर्नु नियमविपरित मानिन्छ ।

सबैभन्दा धेरै नेपाली सेनालाई एम्युनिसन (हातहतियार) उत्पादन गर्ने प्लाण्ट खरिद गर्न २ अर्ब ४५ करोड ५० लाख रुपैयाँ रकमान्तरमार्फत दिइएको अर्थ मन्त्रालयले जनाएको छ । यस्तै सेनाले किनेको फिक्स विंग जहाजको भुक्तानीको लागि ५९ करोड रुपैयाँ रकमान्तर गरेर उपलब्ध गराइएको छ ।

यसैगरी, राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिलाई १ अर्ब ४६ करोड २६ लाख र राष्ट्रिय परिचयपत्र वितरणका लागि एक अर्ब ६६ करोड ५० लाख रुपैयाँ रकमान्तर गरेर उपलब्ध गराइएको अर्थ मन्त्रालयले जनाएको छ ।

भ्रमणमा ५३ लाख खर्च
कात्तिक महिनामा मात्रै मन्त्री र कर्मचारीहरुको विदेश भ्रमणबापत ५३ लाख रुपैयाँभन्दा धेरै रकम भुक्तानी गरेको छ । अर्थ मन्त्रालयका कर्मचारीको भ्रमणका लागि ३५ लाख ७७ हजार, रक्षामन्त्री ईश्वर पोख्रेलको चीन भ्रमणका लागि १३ लाख, कानुन मन्त्रालयका सचिवको फ्रान्स भ्रमणको लागि ४ लाख ८० हजार र उद्योगमन्त्रीको चीन भ्रमणको लागि ३६ हजार रुपैयाँ खर्च भएको अर्थ मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्रीको सुरक्षाको लागि झण्डै साढे २ करोड
प्रधानमन्त्रीको सुरक्षाको लागि सचिवालयलाई सुरक्षा सामग्री खरिद गर्न कात्तिक महिनामा २ करोड ४२ लाख २५ हजार रुपैयाँ रकमान्तर गरी उपलब्ध गराइएको छ । यो रकमले प्रधानमन्त्रीको सुरक्षाको लागि सुरक्षाका उपकरण किन्ने अर्थ मन्त्रालयको विवरणमा उल्लेख छ ।

महिला आयोगलाई गाडी किन्न ३ करोड
अर्थ मन्त्रालयले रकमान्तर गरेर राष्ट्रिय महिला आयोगलाई गाडी किन्न ३ करोड रुपैयाँ छुट्याएको छ । आयोगका पदाधिकारी र सचिवका लागि ६ वटा गाडी किन्न ३ करोड रुपैयाँ छुट्याइएको अर्थ मन्त्रालयले बतायो ।