लोकतन्त्र दिवसको शुभकामना सङ्गै प्रण गर्ने कि ।

प्रकाशित मिति:

प्रजापाल गिरी – आज बैशाख ११ गते एउटा ऐतिहासिक दिन अर्थात १५ औं लोकतन्त्र दिवस। । सबैभन्दा पहिले लोकतन्त्रका खातिर कुर्बानी गर्ने वीर सहीदहरुप्रती श्रद्धाञ्जली – अर्पण गर्दछु। हरेक लोकतान्त्रिक आन्दोलनमा अङ्गभङ्ग भएका योद्धाहरु र आन्दोलनकारीहरुप्रती उच्च सम्मान प्रकट गर्दछु । सातदलको आवहान र नेकपा माओवादीको समर्थनमा भएको जन-आन्दोलन २०६२/६३ मा जनताको अपार सहभागिताका अगाडि घुडा टेकेका तत्कालीन श्री ५ ज्ञानेन्द्रले जनताका नाममा सम्बोधन गर्दै भने “जनताको नासो जनतालाई सुम्पेको छु”। पटकपटक तरल राजनीतिको मौका उठाउँदै नेपाली जनतालाई धोका दिने राजतन्त्रको अन्त्य आन्दोलनको बटमलाईन बन्यो। अन्ततः दुई सय पचास बर्षे इतिहास बोकेको नेपालको राजतन्त्र गर्ल्याम्म ढल्यो । नेपाल अधिराज्य भनेर पहिचान बनाएको देश नेपाल, संघीय लोकतान्त्रिक गणतन्त्र नेपालमा परिवर्तन भयो । आन्दोलनको उपलब्धि स्वरुप नाम मात्रै होइन देशको शासकीय स्वरुप पुराका पुरा परिवर्तन भयो। बहुलवादमा आधारित बहुदलीय व्यवस्था, आवधिक निर्वाचन, न्यायको सिद्धान्त, समयसापेक्ष कानुन, विभेदमुक्त समाज, कानुनी राज्य, मानवअधिकार, प्रेस स्वतन्त्रता, असंलग्न परराष्ट्र निति जस्ता नेपालको मौलिक बिशेषता सहित लोकतन्त्रका आधारभूत र बिश्वव्यापी मान्यता समेटिएको संविधान २०७२ साल मंसिर ३ गते नेपाली जनताद्वारा निर्वाचित सार्वभौमसत्ता सम्पन्न संविधानसभा मार्फत जारी भयो।

जनताले रोजेको र खोजेको राजनैतिक परिवर्तन भयो। देश नयाँ राजनैतिक युगमा प्रवेश गर्‍यो । नयाँ संविधानमा व्यवस्था भए अनुसार जनताको उत्साहजनक सहभागितामा तिनवटै – संघ, प्रदेश र स्थानीय – तहका निर्वाचन सम्पन्न भए । परिवर्तित समय जहाँ उत्तराधिकारमा प्राप्त गर्ने देशको प्रथम व्यक्ती राजाको आसनमा बस्थे त्यहाँ जनताको छोराछोरी राष्ट्रपतिकोरुपमा देशको प्रथम व्यक्तिमा आसीन हुने प्रणालीको शुरुवात भयो । जनताको सर्बोच्चता स्थापित भैसकेको यो समयमा समेत आन्दोलनबाट प्राप्त उपलब्धिहरुको संस्थागत बिकास, कानुन र न्याय बिचको टकराव, असमान बितरण प्रणाली, सुशासन, भ्रष्टाचार निरुपण, बढ्दो बेरोजगारी समस्या, जनताको सहभागितामुलक बिकास र आर्थिकसमृद्धिको सपना हाम्रो समाजमा फेरिन नसकेको रुपमा रहिरहे। निरंकुशताबाट प्रजातन्त्र,त्यतिले नपुगेर लोकतन्त्र,राजतन्त्रको ठाउँमा गणतन्त्र सम्मको यात्रामा धेरै पटक व्यवस्था र राजकीय सत्तामा आमूल परिवर्तनहुँदा समेत जनताकै त्याग र बलिदानीबाट प्राप्त लोकतन्त्रले नागरिकको जीवनमा उल्लेखनीय परिवर्तन आउन नसक्नुले थुप्रै प्रश्न अनुत्तरित चुनौतीको पहाड भएका छन् ।

लोकतन्त्र व्यवस्था मात्रै होईन लोककल्याणकारी समाजको स्थापनाको शसक्त माध्यम हो । लोकतान्त्रिक विधि, बिधान र प्रक्रियाको उच्चतम अभ्यासबाट मात्र लोकतन्त्र बलियो हुन्छ । लोकतन्त्र केवल अलाप्ने र अध्ययनको बिषय मात्रै होइन । यो त मन, वचन र कर्मले आत्मसात गर्दै त्यही अनुरुपको व्यवहार गर्नु हो भन्ने सत्यलाई नजरअन्दाज गरिएको छ । लोकतन्त्र शासन पद्धति मात्र होइन यो त जीवन पद्धति हो भन्ने तथ्यलाई सम्पूर्णरुपमा हृदयङ्गम नगर्दासम्म जतिपटक व्यवस्था परिवर्तन गरेपनि देश र नागरिकको अवस्था फेरिन सक्दैन भन्ने पुष्टि भैसकेको छ। नेपालको सन्दर्भमा लोकतन्त्रलाई भाषणको बिषय मात्रै बनाईयो जनतालाई मिठा सपना देखाइयो तर भाषण गर्ने र मिठा सपना देखाउने नेताको बोली र व्यवहारबिच को फराकिलो अन्तरले बिकास र समृद्धिको सपना देखेका नागरिक निराश भएकाछन् भन्ने तर्फ हेक्का राखिएन ।

लोकतन्त्रप्राप्तिको आन्दोलनको नेतृत्व गरेका नेताहरूको निहित व्यक्तिगत र दलगत स्वार्थका कारण राष्ट्रियताप्रतिको घोषित नीति कमजोर भएको छ । जनताको सेवक बनेर सेवा गर्ने प्रतिबद्धता बिपरित शासकीय महत्वाकांक्षा जागृत भएकै कारण नेताप्रति जनताको बिश्वास घटेको छ । सत्ता, शक्ति र सम्पत्ति आर्जनकालागि हुने गरेका अप्राकृतिक गठबन्धनका कारण सरकारका नीति तथा कार्यक्रम जनमुखी हुनसकेका छैनन् । सुबिधाभोगी बिलासी जीवनको मोहका कारण आर्थिक नैतिक भ्रष्टाचारमा बढोत्तरी भएको छ । अस्वस्थ प्रतिस्पर्धाका कारण सरकार र दलमाथि व्यापारी र बिचौलिया हाबी हुनुले नितिगत भ्रष्टाचार बढेको छ भने बिकास निर्माणका काम निष्प्रभावी भएकाछन । राजनैतिक दल र स्वयं सरकारले समेत आफुलाई गर्ने समर्थन र बिरोधका आधारमा आफ्ना नागरिकप्रती गर्ने बिभेदका कारण सृजीत अनावश्यक हस्तक्षेपले कानुन र न्याय प्रभावित भएका छन् । कानुनी राज्यको उपहास भएको छ ।राज्यबाट प्रदान गरिने सेवासुबिधामा हुने असमानता र असमान बितरणले समाजका तल्लो तह र तप्का अन्यायमा परेका छन् । बेरोजगारीको रुपमा परिवर्तन आएको छ । केही समय अगाडिसम्म शिक्षा र सीप नभएका बेरोजगार युवाहरुको संख्या अत्याधिक थियो। उनिहरुलाई काम, माम र दामको चिन्ता थियो। तर अहिले त्यो बेरोजगारी बजारमा बर्सेनि लाखौं शिक्षित युवाहरु थपिने क्रम बढ्दो छ । युवाहरुको बल, बैस, सीप र दक्षतालाई अवसरकोरुपमा प्रयोग गरेर आर्थिक समृद्धि को बाटो फराकिलो बनाउनेभन्दा जिन्दावाद र मुर्दावादको साधनको रुपमा उपयोग गरिदा बिकास र आर्थिक समृद्धिको सपना हाम्रो समाजमा चिलाउने रोग भएको छ ।

एकातिर सरकारको राष्ट्रियताप्रतिको लाचारी, देश बिकास र आर्थिक समृद्धिका लागी दृष्टिकोणको अभाव, चरम भ्रस्टाचार, सुशासनको शुन्यता, बढ्दो आयात,उच्च व्यापार घाटा, लगानी शून्य बाताबरण,सत्ता संरक्षणमा मौलाएको अपराध,आकाशिंदो महङ्गी,चरम बेरोजगारी,जनप्रतिनिधि लगायत सरकारी ओहदा का कर्मचारीको आर्थिक हैसियतमा आएको अनपेक्षित वृद्धि र नैतिक रुपमा देखिएको ह्रास, बिपद महामारीमा समेत नागरिक प्रति जवाफदेही नरहने सरकारको गैरजिम्मेवार चरित्र र अनुत्तरदायी हर्कतले नागरिक आक्रोशित छन् । अर्कोतर्फ लोकतन्त्रलाई दिर्घायू बनाउने राजनैतिक दलहरू जो २०६२/०६३ को जनआन्दोलन र त्यसपछिका मधेश लगायत आन्दोलनका उपलब्धिहरुको स्वामित्व ग्रहण गर्दै जनताका बिचमा कृयाशिल छन ती दलहरूको आन्तरिक लोकतन्त्रलाई नियालेर हेर्ने हो भने सुखद देखिदैन । पार्टीभित्रको लोकतन्त्रले र यसको ठोस अभ्यासले देशकै लोकतान्त्रिक व्यवस्थालाई टेवा पुर्‍उयाउँछ भन्नेतर्फ लोकतन्त्रकालागि लामोसमय संघर्ष गरेका दलले समेत हेक्का राखेको पाँइदैन । हालको प्रमुख प्रतिपक्षी दल, देशकै जेठो पार्टी नेपाली कांग्रेस जसले लोकतन्त्रलाई आफ्नो आदर्शमै समेटेको छ उसको आन्तरिक लोकतन्त्र उराठ लाग्दो छ। बिरलै केही भातृ , शुभेच्छुकसंस्थाको लोकतान्त्रिक अभ्यासद्वारा अधिवेशन मार्फत नेतृत्व छनौट बाहेक नेताहरुको भागबन्डामा समिति बनेका छन जो प्राय निष्प्रभावी नै छन । स्वयं पार्टीको बिधानले गरेको व्यवस्था अनुसार नेपाली कांग्रेस पार्टीको अधिवेशन हुनसकेको छैन।प्रत्येक चारबर्षमाअधिवेशन गर्नुपर्ने र विशिष्ट परिस्थिति आएमा केन्द्रीय समिति बैठकले एक बर्षको समय थप गर्नसक्ने बिधानमा व्यवस्था भएअनुसार कांग्रेसले सो सुबिधाको समय समेत पूरा गरिसकेको छ। अहिले नेपालको कानुनमा दल दर्ता र नवीकरण सम्बन्धि व्यवस्थाको धारामा टेकेर मात्र नेपाली कांग्रेस पार्टी जिवित छ । पार्टीको अधिवेशनको पछिल्लो तालीकाअनुसार भदौमा सम्पन्न हुन्छ भन्ने बिषय अझैसम्म अन्योलपुर्ण छ। पार्टी भित्रका संस्थापन इतर समुहको दवाबमा धेरै पटक अधिवेशन समयतालिका सार्वजनिक गर्ने तर त्यो समयमा विभिन्न बहाना बनाएर समय तालीका हेरफेर गरिएको छ।आफुलाई जतिसुकै लोकतन्त्रको बाहक र पहरेदार भन्ने गरेपनी कांग्रेसभित्र आन्तरिक लोकतन्त्र कमजोर बन्दै गैरहेको छ। कानुनी मान्यता प्राप्त जनताका बिच मा कृयाशिल अन्य ठुलादलहरू कसैको लोकतन्त्रप्रति द्विविधा, कसैको कमजोर प्रतिबद्धता र कार्यान्वयन, कसैको रणनीतिक मान्यता भएको कारण उनिहरुलाई पूर्णत लोकतान्त्रिक पार्टीको रुपमा नेपाली जनताले स्विकारेका छैनन् । जे होस यहि कानुन अन्तर्गत निर्वाचन आयोगले मान्यता दिएकाले लोकतान्त्रिक नै भनेर बिबेचना गर्ने हो भने २०७४को आमनिर्वाचनमा गठबन्धन गरेर निर्वाचन लडेका दल नेकपा एमाले र नेकपा माओवादी केन्द्र २०७५ जेष्ठ ३ गते एकीकरण भएपनि २०७७ फाल्गुन २३ गते फेरि औपचारिकरुपमा पुरानै दल कायम भएर रहेकाछन् । यिनिहरु पुरानै अवस्थाको दुईपार्टी भएको अदालतको आदेश भएपनि आन्तरिक लोकतन्त्रमै समस्या पैदा भएको कारण पार्टी फुटेको बताइएको छ । नेकपा एमाले समेत फुटको संघारमा उभिएको छ। नेकपा एमालेमा पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलिको दम्भ, अहंकार, हेपाहा प्रवृत्ति र आन्तरिक लोकतन्त्र शून्य भएको सोही पार्टी नेतृत्वपङ्तिले सार्वजनिक टिप्पणी गरेका छन । भर्खरै दुई पार्टी एक भएर बनेको राष्ट्रिय जनता पार्टी पनि फुट्को डिलमा उभिएको छ । सो पार्टीमा पनि आन्तरिक लोकतन्त्रको बिषय कमजोर भएको सोही दलका नेताले टिप्पणी गर्दै आएकाछन।

नेपाली नागरिकले राजनैतिक दलको अपिललाई सहर्ष स्विकार्दै हरेक लोकतान्त्रिक आन्दोलन र परिवर्तनका पक्षमा संघर्ष गर्दै आए। लोकतन्त्रका बाधक शक्तिसङ्ग जुध्दैगर्दा नेपाली नागरिक ले नेताहरूको चिन्तन र प्रवृत्तिमा समेत परिवर्तनको अपेक्षा गरे तर जनताको त्यो अपेक्षा नेतृत्व तहबाट पुनरावृत्ति भइरहनुले लोकतन्त्रको क्षयिकरण भैरहेकोछ। लोकतन्त्र कुरुप अवस्थामा उभिएको छ। तसर्थ लोकतन्त्रलाई जनताको सुखदुःखको साथी बनाउन समाज र राज्यव्यवस्थालाई पुर्णतया लोकतान्त्रिक र भरोसायोग्य बनाउने अभियानमा सबैभन्दा पहिले नेतृत्वतहले आफ्नो चिन्तन, प्रवृत्ति र कार्यशैलीलाई लोकतन्त्र सहाउँदो बनाउन सक्नुपर्छ । अन्यथा लोकतन्त्रका खातिर ज्यानको आहुती दिएका वीर सहीदहरुको सपना, लोकतन्त्र प्राप्ति र रक्षाका लागि भएका आन्दोलनमा ज्यानको प्रवाह बेगर सहभागी भएका योद्धाहरु को त्याग र समर्पणको अवमूल्यन भैरहनेछ । तसर्थ बैशाख ११ गते फगत लोकतान्त्रिक योद्धाहरुलाई सम्झने पुष्पगुच्छा अर्पण गर्ने र लोकतन्त्र दिवसको शुभकामना आदानप्रदान गर्ने दिन मात्र नबनाउँ । साँच्चै लोकतान्त्रिक आचरण बोकेको नागरिक, लोकतान्त्रिक चरित्र भएको समाज र राज्य, जस्तोसुकै प्रतिकुल परिस्थितिमापनि लोकतान्त्रिक संकल्प अनुरुपको काम गर्न सक्ने ईमानदार, सक्षम, जिम्मेवार र उत्तरदायी नेतृत्व निर्माणमा लागौं। आउने पुस्ता लोकतन्त्र प्राप्तिकै लागि संघर्ष गर्न नपर्ने सुनिस्चितताको प्रण गरौं । लोकतन्त्र दिवसको सबैमा हार्दिक शुभकामना ।