लोकतन्त्र स्थापनमा संचार क्षेत्रको भूमिका महत्वपूर्णः सभापति शाह

प्रकाशित मिति:

सैनामैना, ११ बैशाख । सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले शनिवार रुपन्देहीको सैनामैना ११ बनकट्टीमा साझा टेलिभिजनको नयाँ भवन शिलान्यास गर्नुभएको छ । साझापत्र मल्टिमिडिया प्रा.लि.द्वारा सञ्चालित साझा टेलिभिजनले एक वर्ष अघिदेखि परिक्षण प्रसारण गरिरहेको छ ।

भवन शिलान्यास समारोहलाई सम्वोधन गर्दै सभापति शाहले साझा टेलिभिजनले नयाँ भवन वनाउन लागेकोमा खुसी प्रकट गर्दै टेभिभिजनको सफलताको शुभकामना दिनुभयो । सभापति शाहले नयाँ नयाँ प्रविधिको विकास भैरहेको आधुनिक युगमा टेलिभिजन एउटा समाज परिवर्तन गर्ने सशक्त माध्यम हो भन्दै यस क्षेत्रको विकासमा साझा टेलिभिजनले योगदान दिने विश्वास व्यक्त गर्नुभयो । उहाँले राज्यका गतिविधिमा निरन्तर निगरानी गर्ने चौथो अंग सधै वाच डगको भूमिकामा हुने भन्दै आगामी दिनमा सही र सत्य तथ्य सूचना बाहिर ल्याउने सन्दर्भमा चौथो अंगको भूमिका अझै महत्वपूर्ण हुने बताउनु भयो ।

लोकतन्त्र ल्याउन सञ्चार क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गरेको स्मरण गर्दै सभापति शाहले सरकारले गलत गरेको अवस्थामा सञ्चार क्षेत्रले सरकारलाई सचेत र खबरदारी गर्ने वनाउने बताउनुभयो । उहाँले सरकारले सूचना लुकाउने र चौथो अंगले सरकारले गरेका गलत काम बाहिर ल्याउने भएकोले सरकारलाई खबरदारी गर्न पनि पत्रकारिता क्षेत्रले अझै सकृयता देखाउनु आवश्यक छ भन्नुभयो । नेपाली कांग्रेस लुम्विनी प्रदेश सभाका प्रमुख सचेतक फकरद्दिन खानले रुपन्देहीको ग्रामिण क्षेत्रमा साझा टेलिभिजनको स्थापनाले यस क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुग्ने बताउँदै जनतालाई सूचित गर्ने अभियानमा सफलता मिलोस भन्ने शुभकामना दिनुभयो । सैनामैना नगरपालिकाका नगर प्रमुख चित्रबहादुर कार्कीले साझा टेलिभिजनले रुपन्देहीको ग्रामिण क्षेत्रको विकासमा टेलिभिजनको माध्यमबाट फरक पहिचान दिन सकोस भन्ने शुभकामना दिनुभयो ।

उहाँले लोक कल्याणकारी कार्यक्रम प्रसारणमा टेलिभिजनले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दै सवै पक्षलाई समेटेर सवैको साझा वन्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै साझा टेलिभिजनका प्रवन्ध निर्देशक भुवन जिसीले सवैको सहयोगले साझा टेलिभिजनले स्थापनाको एक वर्षमै भवन शिलान्यास गर्न सफल भएको बताउँदै यस क्षेत्रको सूचना तथा समाचार प्रसारणमा टेलिभिजनले प्राथमिकता दिने बताउनु भयो ।शिलान्यास कार्यक्रमको अध्यक्षता गर्दै टेलिभिजनका स्टेशन म्यानेजर नविन घिमिरेले टेलिभिजनलाई सवैको साझा वनाउने प्रतिवद्धता जनाउँदै साझा टेलिभिजनको नाम जस्तै काम पनि साझा गर्ने प्रतिवद्धता जनाउनु भयो । टेलिभिजनले आगामी असोजभित्र भवन निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको छ । कार्यक्रमको सञ्चालन साझा टेलिभिजनका समाचार बाचक सुरेन्द्र परियारले गर्नुभएको थियो ।