मन्त्री पाण्डेलाई जसपा नेता–कार्यकर्ताले देखाए कालोझण्डा

प्रकाशित मिति:

बुटवल, ११ बैसाख । सरकारविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेको दुई घण्टामै पार्टीलाई झुक्याई निर्णय बदलेर लुम्बिनी प्रदेश सरकारको भौतिक पुर्वाधार विकास मन्त्री बनेका सन्तोष पाण्डेलाई आफ्नै पार्टीका नेता–कार्यकर्ताले कालो झण्डा देखाउंदै विरोध जनाएका छन् । रुपन्देहीको मर्चवारमा एक कार्यक्रममा जाने क्रममा मन्त्री पाण्डेलाई मर्यादपूर, मझगावा र गोनहिया लगायतका स्थानमा जनता समाजवादी पार्टीकै नेता कार्यकर्ताले सडकमा टायर बालेर तथा कालो झण्डा देखाएर विरोध जनाएका हुन् ।

जसपा रुपन्देहीका अध्यक्ष रामअवतार यादव,पुर्व सांसद ओमप्रकाश यादव, केन्द्रीय परिषद सदस्य रुपा मल्ल, केन्द्रीय सदस्य उमाशंकर यादव,रेनु सिंह, चन्द्रभूषण यादव,अमरजित यादव,सुनिल जैसवाल लगायतका नेता कार्यकर्ताले मन्त्री पाण्डेलाई पदलोलुप, व्यक्तिवादी, अनैतिक र धोकेबाज भन्दै चर्का नाराबाजी गरेका थिए । उनीहरुले मन्त्रीको बाटो छेक्ने प्रयास गरेपनि प्रहरीले बल प्रयोग गरेर मन्त्रीलाई गन्तव्यतर्फ पु¥याएको थियो । पार्टी निर्णय, संसदीय दलको निर्णय तथा ह्वीप उल्लंघन गर्दै पार्टीलाई झुक्काएर पाण्डे मन्त्री बनेकाले उनको विरोध गरिएको र उनका सार्वजनिक कार्यक्रम वहिस्कार गरिने जसपा रुपन्देही अध्यक्ष रामअवतार यादवले बताए । ‘सरकारविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेको दुई घण्टामै पार्टीलाई झुक्याएर अराजनीतिक र अनैतिक हिसाबले मन्त्री बन्न पुगेकाले विरोधमा उत्रिनुपरेको हो’–अध्यक्ष यादवले भने–‘पार्टीलाई धोका दिने गद्दारलाई अब कार्यकर्ताले छाड्नेवाला छैनन् ।’