पत्रकार महासंघका अध्यक्ष सिग्देललाई सम्मान

प्रकाशित मिति:

स्याङ्जा—११ बैशाख- राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल जिल्ला शाखा स्याङ्जाले नेपाल पत्रकार महासंघ स्याङ्जा शाखाको अध्यक्षमा निर्वाचित भएको भन्दै सम्मान गरेको छ । प्रतिष्ठानले नयाँ बर्ष २०७८ सालको भित्ते पात्रो विमोचन तथा शुभकामना आदनप्रदान कार्यक्रममा श्रीकृष्ण सिग्देललाई नागरिकको अगुवाई गर्ने संस्था महासंघमा निर्वाचन भएको भन्दै सम्मान गरेको हो । विभिन्न सामाजिक संघसंस्थामा निर्वाचित हुने अध्यक्षहरुलाई प्रतिष्ठानले हरेक नयाँ बर्षको शुभारम्भमा सम्मान गर्दै आएको छ ।

सिग्देलले पत्रकारीता क्षेत्रबाट स्याङ्जाको कलाकारीता क्षेत्रमा अतुलनीय योगदान गर्दै आएको पनि प्रतिष्ठानको ठहर छ । क्रियाशिल अवस्थामा रहेका पत्रकार सिग्देललाई आगामी दिनमा पनि लोकसंस्कृतिको संरक्षणमा महत्वपूर्ण भुमिका नागरिकको अगुवाई गर्ने संस्था महासंघबाट हुने अपेक्षा सहित सम्मान गरेको प्रष्ठिानका स्याङ्जाका अध्यक्ष ऋषि डुम्रेले बताए । यो बर्ष नेपाल पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष सिग्देल सहित वालिङ जेसिजका अध्यक्ष विश्वास लम्साल, भीरकोट जेसिजका अध्यक्ष प्रसुन मगर, गल्याङ् जेसिजका अध्यक्ष गोपिकृष्ण रेग्मी, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश सदस्यमा निर्वाचित प्रकाश डोटेल, नेपाल उद्योग वाणिज्य संघको केन्द्रीय सदस्यमा निर्वाचित वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष शोभाकान्त पौडेल र नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश सदस्यमा मनोनित भीरकोट उद्योग वाणिज्य संघका अध्यक्ष भक्तबहादुर केसीलाई प्रतिष्ठानले बधाई तथा सम्मान गरेको छ । सबै निर्वाचित व्याक्तिहरुलाई पुतलीबजार नगर प्रमुख सिमा क्षेत्रीले सम्मान गरेकी हुन् ।

सम्मान कार्यक्रममा बोल्दै नगर प्रमुख क्षेत्रीले कलाकारीता क्षेत्रको संरक्षण र सम्वद्र्धनमा सबै लाग्नुपर्नेमा जोड दिईन् । स्याङ्जा आफैमा कला क्षेत्रको विशेष जिल्ला भएको उल्लेख गर्दै नगर प्रमुख क्षेत्रीले यसको साख बचाई राख्न सबै कलाकारहरुलाई आग्रह गरिन् । प्रतिभा भएका कलाकारहरुको खोजी गरि उनीहरुको कलालाई प्रस्टफुटन बनाउन प्रतिष्ठानले महत्वपूर्ण भुमिका खेल्ने विश्वास आफुले लिएको क्षेत्रीको भनाई छ । कलाकारीताको संरक्षणका लागि पुतलीबजार नगरपालिका हरपहल सहयोग गर्ने प्रतिवद्धता क्षेत्रीले जनाईन् ।

शुभकामना आदनप्रदान तथा सम्मान कार्यक्रममा पुतलीबजार नगरपालिका १ वडा अध्यक्ष निर्मल शेचरन, स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघका उपाध्यक्ष हिक्मत श्रेष्ठ, त्रिभुवन आर्दश माविका प्रधानाध्यापक मुक्ति प्रसाद रेग्मी, नेपाल पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष श्रीकृष्ण सिग्देल, भीरकोट गल्याङ्का अध्यक्ष प्रसुन मगर, गल्याङ जेसिजका अध्यक्ष गोपिकृष्ण रेग्मी लगायतका बक्ताहरुले प्रतिष्ठानले सामाजिक व्याक्तिहरुलाई सम्मान गरेर दायीत्व बोध बढाएकोमा धन्यवाद सहित शुभकामना दिएका थिए । प्रतिष्ठान स्याङ्जाका अध्यक्ष ऋषिराम डुम्रेको सभापतित्वमा सम्पन्न कार्यक्रमको स्वागत उपाध्यक्ष नेत्र खड्का र संचालन सचिव राजेश भण्डारीले गरेका थिए । सोही कार्यक्रममा प्रष्ठिानका सदस्य तार पौडेल श्रेष्ठको जन्मोत्सव पनि मनाइएको थियो ।