त्रिदेशीय टी–२० क्रिकेट सिरिजको उपाधि नेपाललाई

प्रकाशित मिति:

काठमाडौं, वैशाख ११ ; त्रिदेशीय टी–२० क्रिकेट सिरिजको उपाधि नेपालले जितेको छ। शनिबार भएको फाइनलमा नेदरल्याण्ड्सलाई १४२ रनले हराउँदै नेपाल विजेता बनेको हो। यो नेपालले कुनै पनि अन्तराष्ट्रिय क्रिकेटमा हात पारेको सबैभन्दा फराकिलो जित हो। फाइनलमा २३९ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सलाई १७ ओभर २ बलमा ९६ रनमा अलआउट गर्दै १४२ रनको जीत हात पारेको हो। नेपालका करण केशीले ३, सन्दीप लामिछाने र कमलसिंह ऐरीले २–२ तथा अभिनास बोहोराले १ विकेट लिएपछि नेदरल्याण्ड्स ९६ रनमै अलआउट भयो।

नेपालले दिएको लक्ष्य नेपालले टी–२० क्रिकेटमा बनाएको अहिलेसम्मको धेरै रन हो । त्रिवि मैदान कीर्तिपुरमा नेरदल्याण्ड्सले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले दुई खेलाडीको अर्धशतकमा २३८ रन बनाएको थियो ।

नेपालका कुशल भुर्तेलले ७७ रन बनाए । यस्तै कुशल मल्ल ५० तथा दिपेन्द्र सिंह ऐरी ४८ रनमा नटआउट रहे। राष्ट्रिय टिमबाट पहिलो अर्धशतक बनाउने क्रममा मल्लले २४ बलमा ५० रन पूरा गरे। आक्रामक ब्याट्स्म्यानको रुपमा परिचय बनाइरहेका मल्लले ५ छक्का र २ चौकासहित ५० रन बनाए। उनले नेपालका लागि दोश्रो छिटो अर्धशतक बनाएका हुन्। यसअघि ज्ञानेन्द्र मल्लले २१ बलम मलेशियासँग अर्धशतक बनाएका थिए । १७ बर्षिय कुशलले यहि प्रतियोगिताबाट राष्ट्रिय टिममा डेब्यु गरेका हुन् । यस्तै प्रतियोगिताका पाँचमध्ये चार खेलमा अर्धशतक बनाउने क्रममा कुशल भुर्तेलले शनिबार ५३ बलमा ७७ रन बनाए । उनले ५३ बलमा ८ चौका र ३ छक्का प्रहार गरे ।

यस्तै, कप्तान ज्ञानेन्द्र मल्लले ३३ र आशिफ सेखले १६ रनको योगदान गरे । ज्ञानेन्द्रले १९ बलमा ३ चौका र २ छक्का प्रहार गरे।तेश्रो ओभरमा टिमको रन ३० हुँदा आशिफ आउट भएपनि कुशल र ज्ञानेन्द्रले दोश्रो विकेटका लागि ४७ रनको साझेदारी गरे । टीमको स्कोर ८७ हुँदा दशौं ओभरमा ज्ञानेन्द्र आउट भए । यसैगरि कुशल भुर्तेल र कुशल मल्लले तेश्रो विकेटका लागि ७६ रनको साझेदारी गरे । कुशल ७७ रनमा आउट भएपछि मैदानमा आएका दीपेन्द्रसिंह ऐरीले ब्याटिङ गरेपछि नेपालले अहिलेसम्मकै उच्च स्कोर बनाएको हो ।